काठमाडौं । अब एसएआईएम कलेजका विद्यार्थीले अध्ययनसँगै बीमा क्षेत्रको व्यावहारिक अनुभव हासिल गर्ने अवसर पाउने भएका छन् । यसका लागि हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड र एसएआईएम कलेजबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीअनुसार विद्यार्थीलाई बीमा उद्योगसँग सम्बन्धित कामको प्रत्यक्ष अनुभव दिलाउने कार्यक्रम सञ्चालन गरिनेछ । साथै, बीमा क्षेत्रसम्बन्धी उद्योग जानकारी, तालिम तथा ज्ञान आदानप्रदानका गतिविधि पनि सञ्चालन हुने कम्पनीले जनाएको छ ।
सहकार्यअन्तर्गत कार्यशाला, अनुसन्धान तथा व्यावसायिक विकाससँग सम्बन्धित कार्यक्रमसमेत आयोजना गरिनेछन् । यसबाट विद्यार्थीले कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक सिकाइसँग जोड्न सक्ने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार विद्यार्थीलाई बीमा क्षेत्रको कार्यप्रणाली, सम्भावना र रोजगारीका लागि आवश्यक सीपबारे जानकारी प्राप्त गर्न यो सहकार्य उपयोगी हुनेछ ।
हिमालयन एभरेस्ट इन्स्योरेन्सले यस सहकार्यले बीमा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरेको छ ।


































