काठमाडौं । बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ।
भदौ १० गते रसुवा र नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्राधिकरणले प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा बाढी प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा आपतकालीन आवश्यकता पूरा गर्न सहयोग गर्ने उद्देश्यले रकम प्रदान गर्न लागिएको जनाएको छ।
प्राधिकरणका अनुसार विपद्को समयमा सरकारको राहत तथा पुनःस्थापनाको प्रयासमा सहयोग पुर्याउनुका साथै बाढीपीडितलाई सामान्य अवस्थामा फर्काउन योगदान दिने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो।
नियमनकारी निकायका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको प्राधिकरणले सामाजिक उत्तरदायित्वप्रति पनि प्रतिबद्ध रहेको जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्न तथा बीमा दाबीको भुक्तानी प्रक्रिया छिटो, सहज र प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले संकटको समयमा बाढी प्रभावित नागरिकको जीवन सहज बनाउन तथा पीडित परिवारलाई राहतको अनुभूति दिलाउन बीमा क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आ–आफ्नो स्थानबाट सहयोग गर्नसमेत आग्रह गरेको छ।
भदौ १० गते रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। विशेषगरी रसुवा र त्रिशूली क्षेत्रमा बाढीले पुर्याएको विनाशप्रति दुःख व्यक्त गर्दै प्राधिकरणले पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।
प्राधिकरणले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।


































