काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभु बैंक लिमिटेडले २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम प्रदान गरेको हो। भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको उपस्थिति थियो।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बस्तीमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले बैंकले आर्थिक सहयोग गरेको जनाएको छ।
प्रभु बैंकले बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीनको शीघ्र खोजी तथा घाइतेको उद्धार र उपचारको कामना गरेको छ। साथै, प्रभावित परिवारप्रति बैंकले समवेदना व्यक्त गरेको छ।


































