काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकका कर्मचारीलाई जीवन बीमा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई लक्षित गरी जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सुविधा उपलब्ध गराइनेछ। कर्मचारीको जीवन तथा आर्थिक सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले दुई संस्थाबीच सहकार्य गरिएको हो।
सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि नेपाल बैंकका कर्मचारीले जीवन बीमामार्फत विभिन्न जोखिमविरुद्ध थप सुरक्षा प्राप्त गर्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार यसले कर्मचारीको दीर्घकालीन आर्थिक सुरक्षामा समेत योगदान पुर्याउनेछ।
सम्झौता कार्यक्रममा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी अधिकारीहरूले कर्मचारीको सुरक्षा, कल्याण र दीर्घकालीन हितका लागि जीवन बीमाको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए।
दुई संस्थाबीचको सहकार्यले कर्मचारीलाई बीमा सुरक्षा प्रदान गर्नुका साथै संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेशनल लाइफ इन्स्योरेन्सले ग्राहक तथा संस्थागत साझेदारको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।


































