काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षमा कुल बीमा शुल्क (ग्रस रिटेन प्रिमियम) संकलन ६०० करोड रुपैयाँ नाघेको जनाएको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत उक्त उपलब्धिबारे जानकारी सार्वजनिक गर्दै यसलाई ग्राहक, कर्मचारी, अभिकर्ता, साझेदार तथा शुभेच्छुकहरूको विश्वास, समर्पण र निरन्तर सहयोगको प्रतिफल भएको उल्लेख गरेको छ।
कम्पनीका अनुसार जारी गरिएका प्रत्येक बीमा पोलिसी, समयमै गरिएको दाबी भुक्तानी तथा ग्राहकसँग स्थापित विश्वासिलो सम्बन्धले यो उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।
शिखर इन्स्योरेन्सले ६०० करोड रुपैयाँभन्दा बढी कुल बीमा शुल्क संकलनसँगै नेपालको निर्जीवन बीमा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको दाबी गरेको छ।
यस उपलब्धिमा योगदान पुर्याउने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्ता, साझेदार तथा शुभेच्छुकप्रति कम्पनीले आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्दै थप उचाइ हासिल गर्ने प्रतिबद्धता पनि जनाएको छ।

































