वासिंटन । अमेरिकी सेनाले भेनेजुएलाको समुद्री तटबाट एउटा तेल ट्याङ्कर कब्जा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तटबाट अमेरिकी सेनाले एउटा तेल ट्याङ्कर कब्जामा लिएको पुष्टि गरेका हुन् ।
अमेरिकाको यो कदमले निकोलस मादुरोको सरकारविरुद्ध वासिंटनको दबाब अभियानमा तीव्र वृद्धि भएको संकेत गरेको छ ।
‘हामीले भर्खरै भेनेजुएलाको तटमा एउटा ट्याङ्कर कब्जा गरेका छौँ ।
एउटा ठुलो ट्याङ्कर, धेरै ठुलो । वास्तवमा अहिलेसम्म जफत गरिएको सबैभन्दा ठुलो,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने ।
भेनेजुएलाले भने अमेरिकी सो कदमको निन्दा गर्दै यसलाई ‘अन्तर्राष्ट्रिय डकैती’को संज्ञा दिएको छ । यसअघि भेनेजुएलाली राष्ट्रपति मादुरोले भेनेजुएला कहिल्यै ‘तेल उपनिवेश’ नबन्ने घोषणा गरेका थिए ।
ट्रम्प प्रशासनले भेनेजुएलामाथि अमेरिकामा लागुऔषध ओसारपसार गरेको आरोप लगाएको छ । पछिल्लो समय अमेरिकाले भेनेजुएलाली राष्ट्रपति मादुरोलाई सत्ताबाट बेदखल गर्ने प्रयास तीव्र पारेको छ।
भेनेजुएलामा विश्वको सबैभन्दा ठुलो प्रमाणित तेल भण्डार छ । उसले वासिंटनलाई तेलको स्रोत चोर्न खोजेको आरोप लगाएको छ ।
































