काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित एक वित्तीय भवनमा यमनका हुथी विद्रोहीले गरेको आक्रमणमा तीन नेपाली कामदारसहित ११ जना घाइते भएका छन् ।
गएराति रियादस्थित नागरिक लगानी कोषको वित्तीय भवनमा हुथी विद्रोहीले दोस्रो पटक हमला गरेका हुन् । साउदी अरबले गरेको सैन्य कारबाहीको जवाफस्वरूप हुथी विद्रोहीले उक्त भवनलाई निशाना बनाएको बताइएको छ ।
आक्रमणबाट भवनमा क्षति पुगेको छ । यद्यपि, क्षतिको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । घटनामा घाइते भएका ११ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
घाइते हुनेमा तीन नेपाली, चार इजिप्टेली, दुई साउदी र दुई भारतीय नागरिक रहेका छन् ।


































