एजेन्सी । भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी भइरहेको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले प्रदूषण भयावह बनेका कारण नियन्त्रणका लागि कृत्रिम वर्षाको योजना बनाएको हो ।
दिल्ली सरकारका पर्यावरण मन्त्री गोपाल रायले बुधबार आईआईटी कानपुरको टिमसँग बैठक आयोजना गरेका थिए । बैठकपछि रायले भने, ‘सबै कुरा ठिक रह्यो र अनुमति मिल्यो भने २१ र २२ नोभेम्बरका दिन कृत्रिम वर्षा गराइनेछ ।’
पछिल्ला दिनमा दिल्लीको हावा प्रदूषित भएको छ । त्यहाँ एयर क्वालिटी इन्डेक्सको स्तर ५०० नाघेको बताइन्छ ।
वर्षाले कम हुन्छ प्रदूषण ?
कम वर्षाकै कारण दिल्लीको हावा प्रदूषित भएको आकलन गरिएको छ । सेप्टेम्बरमा मनसुन सकिएपछि वर्षा नभएका कारण हावामा प्रदूषणकारी तत्त्व जम्मा भएको विज्ञहरू बताउँछन् । अक्टोबरमा दिल्लीमा नाम मात्रको वर्षा भएको थियो ।
अक्टोबर २०२१ मा १२३ मिलिमिटर वर्षा भएको दिल्लीमा अक्टोबर २०२२ मा १२९ मिलिमिटर वर्षा भएको थियो । तर अक्टोबर २०२३ मा दिल्लीमा ५.४ मिलिमिटर मात्र वर्षा भएको थियो ।
कृत्रिम वर्षा ‘क्लाउड सिडिङ प्रविधि’ मार्फत गराइन्छ । आईआईटी कानपुरका विज्ञहरू सन् २०१७ देखि नै क्लाउड सिडिङ प्रविधिमार्फत कृत्रिम वर्षा गराउने योजनामाथि काम गर्दै आएका थिए ।
यस वर्षको जुन महिनामा आईआईटी कानपुरले उक्त प्रविधिमा सफलता हात पारेको बताइन्छ । परीक्षणका क्रममा एउटा सानो विमानलाई पाँच हजार फिटको उचाइमा उडाइएको थियो । सोही विमानबाट क्लाउड सिडिङ प्रविधिअनुसार बादलमा रासायनिक पाउडर छर्किएको थियो, जसबाट वर्षा भएको थियो ।


































