काठमाडौं । स्पेसएक्सको बजार मूल्यमा आएको तीव्र गिरावटसँगै यसको असर कम्पनीका प्रमुख इलन मस्कको व्यक्तिगत सम्पत्तिमा समेत देखिएको छ। पछिल्ला केही दिनको कारोबारमा मस्कको सम्पत्तिमा करिब ३५० अर्ब अमेरिकी डलर बराबरको गिरावट आएको अन्तर्राष्ट्रिय रिपोर्टहरूले जनाएका छन्।
ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मंगलबार बजार बन्द हुँदा मस्कको कुल सम्पत्ति करिब ९५७ अर्ब डलरमा झरेको छ। यससँगै केही दिनअघि उनले प्राप्त गरेको ‘ट्रिलियनियर’ अर्थात एक ट्रिलियन डलरभन्दा बढी सम्पत्तिको स्तर पनि गुमेको बताइन्छ।
हालैको गिरावटलाई केही दिनअघि देखिएको तीव्र वृद्धिसँग तुलना गर्दा, मस्कले गुमाएको सम्पत्ति विश्वका दोस्रो धनी व्यक्ति ल्यारी पेजको कुल सम्पत्तिभन्दा पनि बढी हुने अनुमान गरिएको छ। केही समयअघि स्पेसएक्सको उच्च मूल्यांकनका कारण उनको सम्पत्ति १.३ देखि १.४ ट्रिलियन डलरसम्म पुगेको चर्चा थियो, जसले उनलाई अन्य शीर्ष अर्बपतिहरूभन्दा निकै अगाडि पुर्याएको थियो।
मस्कको सम्पत्तिको मुख्य आधार स्पेसएक्स भए पनि टेस्ला, एक्सएआई, न्युरालिंक, द बोरिङ कम्पनी र सामाजिक सञ्जाल एक्समा रहेको उनको हिस्सेदारीले पनि ठूलो योगदान दिएको छ। करिब तीन दशकअघि व्यवसायिक यात्रा सुरु गरेका मस्कले १९९९ मा Zip2 बिक्रीपछि पहिलो ठूलो सफलता पाएका थिए भने २००२ मा पेपाल बिक्रीपछि उनी तीव्र रूपमा धनाढ्य सूचीमा उक्लिएका थिए।
विश्लेषकहरूका अनुसार स्पेसएक्सको अत्यधिक मूल्यांकन, प्रविधि क्षेत्रमा देखिएको बिक्री दबाब र भविष्यको वृद्धिदरबारे बढ्दो शंकाका कारण हालको गिरावट आएको हो। यद्यपि हालको अवस्थामै पनि मस्क विश्वका अधिकांश अर्बपतिहरूभन्दा धेरै अगाडि रहेका छन्।


































