एजेन्सी । उत्तरपश्चिमी चीनको सिन्ज्याङ वीगर स्वायत्त क्षेत्रमा पर्ने प्रसिद्ध मुजताग अता हिमालको ‘नम्बर २’ हिमनदीमा शक्तिशाली हिमपहिरो गएको छ । ग्लोबल टाइम्सका अनुसार हालै गएको उक्त हिमपहिरो सुनसान तथा दुर्गम क्षेत्रमा खसेको हो ।
अग्नि नियन्त्रण तथा उद्धार अधिकारीहरूका अनुसार हिमपहिरो मानव बस्ती तथा मुख्य यातायात मार्गबाट निकै टाढा रहेको क्षेत्रमा गएको थियो । सो क्षेत्रमा मानिसको बसोबास नरहेको र पर्यटकीय मार्गसमेत टाढा रहेकाले कुनै मानवीय तथा भौतिक क्षति नभएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
स्थानीय भाषामा ‘बरफको हिमालको पिता’ भनेर चिनिने मुजताग अता समुद्र सतहबाट ७ हजार ५ सय ४६ मिटरको उचाइमा रहेको छ । पामिर पर्वतमालाको प्रमुख हिमालमध्ये एक मुजताग अता पर्वतारोही तथा अनुसन्धानकर्ताका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ ।
अधिकारीहरूका अनुसार हिमपहिरो गएको ‘नम्बर २’ हिमनदी क्षेत्र अत्यन्त दुर्गम भएकाले ठूलो प्राकृतिक हलचल भए पनि जनधनको जोखिम कम भएको हो । पछिल्ला दिनमा मौसमी परिवर्तन तथा तापक्रममा देखिएको उतारचढावका कारण यस क्षेत्रमा हिमनदी अस्थिर हुन सक्ने विज्ञहरूले बताएका छन् ।
अग्नि नियन्त्रण तथा उद्धार विभागले हिमपहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न ड्रोन तथा भू–उपग्रहबाट निरन्तर निगरानी गरिरहेको जनाएको छ । भौगोलिक रूपमा चुनौतीपूर्ण उक्त हिमाली क्षेत्रमा उद्धार टोलीलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।
हिमपहिरो गएको दृश्य सामाजिक सञ्जालमा समेत व्यापक रूपमा फैलिएको छ । सार्वजनिक भएका दृश्यमा हिउँको ठूलो ढिक्का पहाडको फेदीतर्फ तीव्र गतिमा खसिरहेको देखिन्छ ।
अधिकारीहरूले सो क्षेत्रमा जाने पर्वतारोही तथा पर्यटकलाई मौसमको अवस्था र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेका छन् । हिमपहिरो रोकिए पनि थप साना हिमपहिरो जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाइएको जनाइएको छ ।


































