काठमाडौं । ओमानस्थित प्रमुख तेल निर्यात केन्द्रमा विस्फोट भएको खबर सार्वजनिक भएको छ। उक्त घटना सिंगल-ब्वाय मुअरिङ (एसबीएम) बर्थ नजिकै भएको र सम्भावित रूपमा ड्रोन आक्रमणका कारण भएको बताइएको छ।
घटना कहिले भएको हो भन्ने स्पष्ट समय भने तत्काल खुल्न सकेको छैन। तर, एलएसईजीको ढुवानीसम्बन्धी तथ्यांकले शुक्रबार धेरै सुपरट्याङ्करहरू बन्दरगाह बाहिरै लङ्गर हालेर बसेको देखाएको छ, जसले अवस्थाको संवेदनशीलता संकेत गर्छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार, विस्फोटपछि ओमानले आफ्नो मुख्य ‘मिना अल फहल’ तेल टर्मिनलमा कच्चा तेल भर्ने प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको छ।
स्रोतहरूका अनुसार विस्फोट एसबीएम–१ र एसबीएम–२ बर्थको बीच क्षेत्रमा भएको थियो। यसलाई लक्षित ड्रोन आक्रमण हुन सक्ने आशंका गरिएको छ, यद्यपि यसको औपचारिक पुष्टि हुन बाँकी छ।
घटनाबारे ओमानी अधिकारीहरूले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। साथै, कार्यालय समय बाहिर भएकाले टर्मिनलसँग तत्काल सम्पर्क हुन नसकेको बताइएको छ।
यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमले केही दिनअघि ओमानको खाडी क्षेत्रमा अमेरिकी सैन्य जहाजलाई लक्षित गरेर कदम चालिएको दाबी गरेका थिए। तर, अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले भने उक्त दाबीलाई अस्वीकार गरेको छ।


































