काठमाडौं । भारतमा पछिल्ला दिनहरूमा विद्यार्थी र युवाहरूको नेतृत्वमा व्यापक आन्दोलन चर्किएको छ। विशेषगरी मेडिकल प्रवेश परीक्षामा देखिएको प्रश्नपत्र लिक प्रकरणपछि सुरु भएको विरोध अहिले देशव्यापी आन्दोलनमा परिणत भएको हो।
शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘ककरोच जनता पार्टी’ (सिजेपी) ले दिल्लीको जन्तर–मन्तरमा थालेको प्रदर्शन बुधबार झन् तीव्र बनेको छ।
आफ्ना मागहरू तत्काल सम्बोधन नगरे लाखौँ मानिसलाई सडकमा उतार्ने चेतावनी आन्दोलनकारीहरूले दिएका छन्।
यसैबीच, भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल (सीआरपीएफ) का थप २० कम्पनी दिल्लीमा खटाउने निर्णय गरेको छ। एउटा कम्पनीमा करिब १०० सुरक्षाकर्मी रहने भएकाले झण्डै २ हजार सुरक्षाकर्मी थप परिचालन हुनेछन्।
पश्चिम बंगालबाट सुरक्षाकर्मीलाई हवाईमार्गमार्फत दिल्ली ल्याउने कार्यसमेत सुरु भइसकेको जनाइएको छ।
परीक्षा घोटालाबाट सुरु भएको आक्रोश
हालैको NEET परीक्षामा प्रश्नपत्र लिक भएको आरोपपछि लाखौं विद्यार्थी प्रभावित भएका छन्। करिब २० लाख विद्यार्थी प्रभावित भएको बताइएको छ, जसले युवामा गहिरो निराशा र आक्रोश पैदा गरेको छ।
वर्षौंको मेहनतपछि पनि निष्पक्ष मूल्यांकन नपाएको गुनासो गर्दै विद्यार्थीहरू सडकमा उत्रिएका हुन्।
देशभर फैलियो आन्दोलन
सुरुमा दिल्ली केन्द्रित रहेको आन्दोलन अहिले मुम्बई, चेन्नई लगायतका सहरहरूमा समेत फैलिएको छ। विभिन्न विद्यार्थी समूह, नागरिक समाज र पेशाकर्मीहरूले समेत समर्थन जनाएका छन्। हजारौं प्रदर्शनकारीले र्याली, धर्ना र ‘संसद मार्च’ जस्ता कार्यक्रम आयोजना गरेका छन्।
प्रहरीसँग झडप, सयौं घाइते
दिल्लीमा संसदतर्फ मार्च गर्ने क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ। प्रहरीले अश्रुग्यास र लाठीचार्ज प्रयोग गर्दा करिब १८० जना घाइते भएको रिपोर्ट आएको छ।
मानवअधिकार समूहहरूले शान्तिपूर्ण प्रदर्शनमाथि बल प्रयोग भएको भन्दै आलोचना गरेका छन्।
आन्दोलनकारीका मुख्य माग
आन्दोलनरत विद्यार्थी र युवाहरूले सरकारसमक्ष शिक्षा मन्त्रीको राजीनामा, परीक्षा प्रणालीमा व्यापक सुधार, पेपर लिकमा संलग्नमाथि कडा कारबाही, पीडित विद्यार्थीलाई न्याय, पारदर्शी र विश्वसनीय भर्ना प्रणाली बनाउन माग राखेका छन् ।
राजनीतिक रंग लिँदै आन्दोलन
यो आन्दोलन अहिले राजनीतिक रूपमा पनि संवेदनशील बन्दै गएको छ। विपक्षी दलका नेताहरू, विशेषगरी राहुल गान्धी, प्रदर्शनमा सहभागी भएका छन् र केही समयका लागि नियन्त्रणमा समेत लिइएको थियो। विश्लेषकहरूका अनुसार, युवाको असन्तोषले सरकारमाथि ठूलो राजनीतिक दबाब सिर्जना गरेको छ।
विशेषज्ञहरू भन्छन्—यो आन्दोलन केवल परीक्षा घोटालासँग सीमित छैन। यसका पछाडि बढ्दो बेरोजगारी, शिक्षा प्रणालीप्रतिको अविश्वास, अवसरको, असमान वितरण र युवामा भविष्यप्रतिको चिन्ता जस्ता कारणहरू गहिरो रूपमा जोडिएका छन्।
भारतमा चर्किएको यो आन्दोलनले स्पष्ट संकेत दिएको छ कि युवाहरू अब पारदर्शी, विश्वसनीय र अवसरमुखी प्रणाली चाहन्छन्।
सरकारले समयमै ठोस कदम नचालेमा यो आन्दोलन अझ व्यापक राजनीतिक र सामाजिक संकटमा रूपान्तरण हुन सक्ने देखिएको छ।


































