काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिरहेका उद्योगीलाई लगानी विस्तार गर्न आग्रह गर्ने भएका छन्।
भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शनिबार बिहान नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसङ्घ (सीआईआई) मुख्यालयमा आयोजित उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई सम्बोधन गर्ने कार्यक्रम छ। सीआईआईकी अध्यक्ष डा.
छलफलमा नेपालमा लगानीका सम्भावना, लगानीको वातावरण तथा भारतीय लगानीकर्ताले भोगिरहेका समस्या र तिनको समाधानका विषयमा चर्चा हुने बताइएको छ।
अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अनुकूल वातावरण निर्माण भइरहेको जानकारी गराउँदै लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा तथा प्रतिफल सुनिश्चितताका विषयमा सरकारको धारणा प्रस्तुत गर्नेछन्।
नेपालमा लगानी गरिसकेका भारतीय उद्योगीलाई थप लगानीका लागि प्रोत्साहित गर्नुका साथै नयाँ लगानीकर्तालाई ऊर्जा, उत्पादनमूलक उद्योग, पूर्वाधार तथा प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्ने तयारी छ।
छलफलमा सीआईआईका पूर्वअध्यक्ष एवं आईटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन भारतीय उद्योगपति सहभागी हुने सीआईआईले जनाएको छ।
भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले यसअघि भारतीय वित्तमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन्। भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सम्बन्ध, व्यापार, लगानी तथा ऊर्जा सहकार्यका विषयमा छलफल भइरहेको छ।


































