काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकै उपस्थितिमा निजी क्षेत्रका छाता संगठनका प्रमुखहरूले सरकार र राज्यका प्रतिनिधिले व्यवसायीप्रति मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकार तथा राजनीतिक वृत्तबाट व्यवसायीलाई मर्यादित भाषामा सम्बोधन गर्न आग्रह गरेका हुन् ।
अर्थतन्त्र कोभिड–१९ महामारीयतादेखि नै कठिन अवस्थामा रहेको उल्लेख गर्दै अग्रवालले अर्थतन्त्रलाई लयमा फर्काउन राज्यको सक्रिय पहल आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा पुँजीगत खर्च बढाउन सरकारलाई सुझाव दिए । विद्यमान कानुनी जटिलता हटाएर निजी क्षेत्रको लगानी बढाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । यसका लागि परिसंघले निरन्तर पहल गरिरहेको उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विगतदेखि नै सरकारले निजी क्षेत्रलाई मात्र दोषी देखाउने प्रवृत्ति रहेको भन्दै त्यसलाई अन्त्य गर्न आग्रह गरे ।
‘सबैले निजी क्षेत्रलाई गाली मात्र गर्ने काम भयो,’ उनले भने, ‘परिवर्तनको सोचबाट आउनुभएका तपाईंहरूले अब त्यो नगरिदिनुहोस् ।’
अध्यक्ष श्रेष्ठले बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थानमा निजी क्षेत्रले सरकारसँग हातेमालो गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


































