काठमाडौं । निरन्तर दबाबमा रहेको सेयरबजारलाई सुधारको दिशामा लैजान सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीकर्ताको मनोबल बढाउँदै पूँजीबजारमा देखिएका समस्या समाधान गर्न आगामी साताभित्र सुधारसम्बन्धी प्याकेज सार्वजनिक गरिने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूँजीबजारलाई पूँजी निर्माणको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए।
उनले पछिल्लो समय सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउन तत्कालीन र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाइने जानकारी दिए। अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै लगानी र आर्थिक गतिविधि विस्तार गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको खस्किएको व्यावसायिक आत्मविश्वास पुनःस्थापित गर्न छुट्टै प्याकेजसमेत तयार भइरहेको बताए। उनका अनुसार रोकिएका लगानीलाई पुनः अघि बढाउने, नयाँ लगानी आकर्षित गर्ने तथा उत्पादन र रोजगारी विस्तार गर्ने उद्देश्यले निजी क्षेत्रसँग सम्बन्धित सुधारका कार्यक्रम ल्याइनेछ।
त्यस्तै, पछिल्लो समय बाढीका कारण प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानलाई समेत सरकारले प्राथमिकतामा राखेको उनले बताए। प्रभावित व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक नीतिगत तथा अन्य सहयोगका कार्यक्रम अघि बढाइने उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले पूँजीबजार सुधार, निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास अभिवृद्धि तथा बाढी प्रभावित उद्योग–व्यवसायको पुनरुत्थानमार्फत अर्थतन्त्रलाई थप गतिशील बनाउने सरकारको तयारी रहेको जानकारी दिए।


































