National life

बागलुङका कुना कन्दरामा विस्तार हुँदै किवी खेती, किसानको मोह बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ मंसिर २०८०, सोमबार
982Shares
बागलुङका कुना कन्दरामा विस्तार हुँदै किवी खेती, किसानको मोह बढ्यो
ncell

काठमाडौं । बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रुपमा किबीलाई लिन थालिएको छ ।

गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देख्न सकिन्छ । केही वर्ष पहिलासम्म आयात गरिएको किबी बिक्री गर्दै आएका बागलुङका फलफूल व्यवसायी अहिले स्थानीयस्तरमा उत्पादित किबी बिक्री हुन थालेको बताउँछन् । पछिल्लो समय शिक्षा, रोजगारलगायत कारणले बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएपछि बाँझो खेतीयोग्य जग्गाको सदुपयोग गर्दै गाउँगाउँमा किबी खेतीको लहर चलेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बागलुङ नगरपालिका-८ सिगानाका पूर्व वडाध्यक्ष जीतबहादुर जिसीले किबी खेती गर्न थालेको दुई वर्षभयो । पहिलो वर्ष थोरै उत्पादन भएकाले बजारमा पुर्‍याउन नसकेको बताउँदै उनले यस पटक बजारमा पठाउन थालिएको जानकारी दिए । ‘आफू वडाध्यक्ष हुँदा किसानलाई सुन्तला र फलफूल खेतीमा आकर्षण गरेको थिएँ । अहिले आफैँले खेती गर्दा राम्रो उत्पादन भएको छ’, उनले भने ।

पछिल्लो समय जिसी मात्रै होइन बागलुङका गाउँ(गाउँमा किबी खेती विस्तार हुँदै गएको छ। बागलुङमा पछिल्लो समय बागलुङमा एक सय भन्दाबढी किसान किबी खेतीमा लागेका छन् । काठेखोला गाउँपालिका(५ बिहुँका खिमानन्द कँडेलले उत्पादन गरेको किबी बागलुङ बजारहुँदै चितवन पुगेको बताए । पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फलको राम्रो सम्भावना रहेको उनको भनाइ थियो ।

गतवर्ष चार हजार केजी बिक्री गर्नुभएका बागलुङका पुराना किबी किसान मेहरसिंङ पाइजाले यसवर्ष भने असिनाका कारण उत्पादनमा गिरावट आएको बताए । बागलुङमा सबैभन्दा ठूलो क्षेत्रफलमा किबी लगाउने पाइजाले यसवर्ष आम्दानी घटेको बताउँदै उचित काँटछाट गर्दा राम्रो उत्पादन दिने बताए । प्रतिकेजी रू १०० मा बिक्री भए पनि किबीमा नाफा रहेको उनले अनुभव सुनाए ।

एक पटक किबीको झाल र थाक्रा व्यवस्थापन गरे पुग्ने भन्दै किबीलाई सामान्य हेरचाहमा राम्रो उत्पादन दिन सक्ने बागलुङ भकुण्डेका हर्कबहादुर थापाले बताए । उत्पादित किबी भकुण्डेकै अतिथि सत्कार घरबासमा आउने विदेशी पर्यटकले उपभोग गर्ने गरेका उनको भनाइ थियो ।

विसं २०७३ मा पोखरामा किबीको बिरुवा देखेका हर्कबहादुरले बारीमा जम्मा पाँचबोट मात्रै लगाएका थिए । उक्त बोटमै वार्षिक पाँच सय केजी किबी उत्पादन हुने गरेको थापाले जानकारी दिए । मलजल र थाँक्रो राम्रो भएमा एउटै बोटमा धेरै फलाउन सकिने उनले बताए ।

थापाको घरनै अहिले किबीले ढाकेको छ । अहिले भकुण्डेमा मात्रै आधादर्जन किसानले व्यावसायीक किबी खेती गर्दै आएका छन् । किबी खेती गर्दा जग्गा सदुपयोग हुनुका साथै आम्दानी स्रोत बन्ने भएपछि किसान यसतर्फ आकर्षित भएका काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

‘आफैबाट सुरु गरेँ अरुलाई भन्न र सिकाउन सहज हुन्छ भनेर चार रोपनी जग्गामा किबी खेती गरेको छु । पहाडी क्षेत्रमा धेरै स्याहार गर्न नपर्ने र एक पटक लगानी गरेपछि वर्षौँ लगानी थप्न नपर्ने खेती हो’, उनले भने, ‘एकै पटक उत्पादन भए पनि लामो समय टिकाउन सक्ने फलफूल भएकाले धेरै किसान किबी खेतीमा आकर्षित भएका छन् ।’

रेशमा वडा कार्यालयले अनुदनामा किबीका बिरुवासमेत वितरण गर्दै आएको लामिछानेले जानकारी दिए । उनका अनुसार किबीप्रति किलो स्थानीय बजारमा दुई सयदेखि दुई सय ५० सम्ममा सहजै बिक्री वितरण हुने गरेको छ ।

किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ । किबी खेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने यो बिरुवाले लगातार लामो समयसम्म राम्रो उत्पादन दिने भएकाले किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिए । रासस

यो समाचार शेयर गर्नुहोस्
982SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?