काठमाडौं। उत्साह, हिम्मत, साहस, आटका साथ सङ्घर्ष ग¥यो भने मानिस पक्कै सफल हुन्छ । र यहीँ सफलताले नै मानव जीवनलाई सार्थक तुल्याउँछ । कठोर सङ्घर्ष र मिहिनेत गरेर प्राप्त गर्न सकिने उत्कृष्ट परिणामले मानिसलाई पुग्ने गरी खुसी दिन्छ । सङ्घर्ष मानव जीवनको यस्तो पुँजी हो जसले सङ्घर्ष गर्ने व्यक्तिलाई मात्र नभई समाज, छिमेक, समुदाय, राज्य आदि सबैलाई त्यसले खुसी नै दिन्छ।
पोखरा भद्रकाली क्यामसबाट प्लस टु गरेका प्रवीण हर्मेल अहिले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पोखरा शाखाको सिटीजन लिडरका रूपमा बीमा अभिकर्ताको काम गरिरहेका छन् । सानैदेखि अरूले भन्दा केही फरक गर्ने चाहाना राख्ने प्रवीण भारतीय आर्मीमा भर्ती हुने सपना बोकेर देशका विभिन्न स्थानमा भौँतारिए तर त्यो समयमा नागरिकता अभावकै कारण उनको सपना सपनामै बिलायो । त्यसपछि उनले नेपाल प्रहरीमा जागिर खाने निर्णय गरे अरूलाई आफ्नोबारे त्यति धेरै भन्न नरुचाउने प्रवीणले मनमनै गरेको निर्णयले नेपालको पनि विभिन्न सहरमा डुलायो तर अथक प्रयासको बाबजुद उनको त्यो सपनाले समेत आकार दिन पाएन ।
एकपछि अर्को सपना निराशामा बद्लिएपछि हर्मेलले अन्ततः आफ्नो देश नै छोडेर वैदेशिक रोजगारीका लागी इजरायल जाने सोच बनाए । त्यो सोचले उनलाई सहरका थुप्रै गल्ली गल्ली डुलायो , धेरै मेनपावर धाउने बनायो , अनेक हर्कतका दलालहरूसँग ठोक्कायो तर पनि तेस्रो सपनाको रूपमा त्यो सपना पनि त्यत्तिकैमा विलीन भयो ।
एकपछि अर्को असफलता मिलेपछि निराशामा रहेका प्रवीणले आफैलाई प्रश्न गर्न थाले, अब जीवन बिरक्तिएर सिद्ध्याउने की फेरि नयाँ ऊर्जाको साथमा अगाडि बढ्ने भनेर , त्यो बिचमा उनले थुप्रै अग्रजको सुझाव सुने, केही किताब पढे, केही युट्युबमा भिडियो हेरे र केही ऊर्जाशील साथीहरूको संगत बढाए त्यसपश्चात् उनी फेरि नयाँ जाँगर सहित आफ्नो निराशालाई जितेर व्यवसायीक यात्रा सुरु गर्ने निधो गरे ।
मनमा जोस, काँधमा जिम्मेवारी र यात्रामा ठेस लागेका प्रवीणले पोखरामा किराना पसलसँगै युवा जागरण पशु तथा कृषि फर्म सुरु गरेका गरे । त्यसबाट पनि दुःख गरे अनुसारको आम्दानी हुन सकेन तर त्यो बेला भने उनीभित्रै जाँगर बाकी थियो, ऊर्जा कायम थियो अब लड्नुहुन्न बरु सजक भएर अगाडि बढ्नुपर्छ भन्ने उत्प्रेरणा कायम थियो निराशा र आशाको बिचमा यात्रा गर्दागर्दै अन्ततः प्रवीणको जिन्दगीमा नयाँ मोड बनेर जोडिन आयो बीमा अभिकर्ताको यात्रा ।

बागलुङको तमानखोला गाउँपालिका ४ लाम्मेला भन्ने स्थानमा पुर्ख्यौली घर भएका हर्मेल हाल पोखरा महानगरपालिका १३ को सद्भाव टोलमा बस्दै आएका छन् । बीमाकै पोलिसी बेच्ने कामको सिलसिलामा उनी कहिले पोखरा त कहिले काठमाडौँ डुलिरहन्छन् । उनले काठमाडौँ आएका वेलामा बस्नको लागि सहज होस भनेर काठमाडौँको गंगबु, नयाँ बसपार्क नजिकै डेरा गरेका छन् ।
करिब ४ वर्षपहिले सामान्य बीमा अभिकर्ताको रूपमा काम सुरु गरेका हर्मेल अहिले सिटजन लाइफ इन्स्योरेन्सको पोखरा शाखामा एजेन्सी म्यानेजरको रूपमा कार्यरत छन्। एक अर्काप्रतिको विश्वास सहितको केही कुरामा मन्जुरी दिनु नै बीमा हो। बीमा भनेको दुई व्यक्ति बिचको करार हो । जीवन बीमा भनेको जिन्दगीभरको लागी साथी हो भनेर बुझाउँदै हिँड्ने बीमा अभिकर्ता प्रवीणको यात्रा रोचक र प्रेरणादायी छ ।
एक अर्काप्रतिको विश्वास सहितको केही कुरामा मन्जुरी दिनु नै बीमा हो। बीमा भनेको दुई व्यक्ति बिचको करार हो
मैले कति कमाउँछु त्यो मात्रै विशेष कुरा होइन बरु मैले कतिको जिन्दगीमा खुसी भर्न सकेको छु त्यो चाही मेरो प्राथमिकता र सफलता मान्ने आधार हो
बीमा अभिकर्ता भएर काम गर्दै गर्दा आफूलाई घरपरिवार र केही साथीभाइहरूबाट पूर्ण रूपमा सहयोग पाएको बताउने हर्मेलले अहिले अभिकर्ता पेसाबाट नै मार्सिक ५० हजार रुपैयाँ बराबरको कमाइ गरेको बताउँछन् । सिजिन लाइफ इन्स्योरेन्समा काम सुरु गर्नुभन्दा पहिले उनले लाइफ इन्स्योरेन्स नेपालमा समेत अभिकर्ता भएर काम गरेका थिए । आर्थिक भ्वाइससँग कुराकानी गर्दै उनले भने, ‘बीमा अभिकर्ता बन्नका लागि सबैभन्दा पहिला त आफूमा प्यासन हुनुपर्छ, सुन्ने धैर्यता हुनुपर्छ । त्यो भन्दा माथि आँट, साहस र आफूमाथि नै विश्वास हुनु जरुरी छ ।’
बीमा अभिकर्ताकै रूपमा काम गरेबापत हर्मेलले कम्पनीबाट प्रोत्साहन स्वरूप धेरै सम्मान तथा पुरस्कारहरू प्राप्त गरिसकेका छन् । उनले कम्पनीबाट डाईमण्ड क्लबको उपाधिसमेत प्राप्त गरेका छन् । उक्त उपाधि लिँदै गर्दा आफूसँगै आफ्ना बुवालाई पनि सम्मानित गर्न पाउँदा आफू एकदम खुसी भएको उनको भनाई छ । उनले कम्पनीको तर्फबाट देशका विभिन्न स्थानसहित देशबाहिर सिङगापुर, मलेसियासम्मको भ्रमण समेत गरिसकेका छन् ।
उनले सिटिजन लाइफ इन्स्योरेन्सको पोखरा शाखाबाट एक महिनासम्म १ दिन पोलिसी बेच्न सक्ने अभिकर्ताको रूपमा समेत सम्मान प्राप्त गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २० ओटा घातक रोगहरूको उपचार सुविधा दिन दिँदै आएको छ। यो कम्पनी प्रविधिमैत्री भएको कारणले गर्दा विश्वको जुनसुकै कुनाबाट पनि पोलिसी किन्ने लगायतका कारोबारहरू गर्न पनि सकिन्छ । लगभग दुई गुणा (४० देखी ४५ प्रतिशतसम्म) नै बोनस कम्पनीले दिने गर्दछ । यस्तै कम्पनीमा कसैको करकाप दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्न पाइने भएकोले पनि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी काम गर्नको लागि राम्रो कम्पनी भएको प्रवीणको भनाई छ ।
‘मानिसहरूले मर्छु भनेर बीमा गर्ने होइन । मानव जीवनमा अकस्मात् आइपर्ने भवितव्यको जोखिम कम गर्ने महत्त्वपूर्ण औजार नै बीमा हो '

































