थाहा नगरपालिकाको चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले अनुसन्धान केन्द्रित स्नातकोत्तर तथा विद्यावारिधि कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । विश्वविद्यालयले समृद्ध तथा न्यायसंगत नेपाल निर्माण गर्दै जनशक्ति उत्पादन गर्नुलाई आफ्नो मुख्य लक्ष्य मानेको छ । यसै विषयमा रहेर आर्थिकभ्वाइसका सम्पादक बिजय फुयाँलले विश्वविद्यालयका निर्देशक कीर्ति कुसुम जोशीसँग कुराकानी गरेका छन्। । प्रस्तुत छ निर्देशक कीर्ति कुसुम जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश :
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले भर्खरै एउटा अन्तर्राष्ट्रिय सम्मेलन गर्यो ।
२०७९ सालमा स्थापित यो विश्वविद्यालय नेपालको पहिलो अनुसन्धान केन्द्रित प्राविधिक विश्वविद्यालय हो । यहाँ स्नातकोत्तर (मास्टर्स) र विद्यावारिधि (पिएचडी) मा गरी विभिन्न पाँच वटा कार्यक्रम सञ्चालित छन् । अन्य विश्वविद्यालयभन्दा यहाँ के फरक हुन्छ भने यहाँ विद्यार्थीहरू पूर्णकालीन अनुसन्धानमा केन्द्रित हुन्छन् । दुई तीन वर्षको शैक्षिक कार्यक्रमभरि विद्यार्थीले अनुसन्धानको मात्र काम गर्छन् ।
यसलाई कसरी विश्वस्तरीय विश्वविद्यालय बनाउन सकिन्छ भन्नेमा हामी केन्द्रित छौं । त्यो क्रममा सरकार र विभिन्न संस्थाबाट सहयोग प्राप्त भइराखेकै छ । हामीले यो खालको अन्तर्राष्ट्रिय सम्मेलन तेस्रो पटक आयोजना गरेका हौं । विदेशीदेखि स्वदेशी सबै सरोकारवालाहरूसँग छलफल भएको छ । सबैको साथ र सहयोग प्राप्त भइराखेको छ । सम्मेलनका दौरान विश्वविद्यालय अनुदान आयोग लगायत सरोकारवालाहरूको क्षेत्रबाट विभिन्न सल्लाह, सुझाव र पृष्ठपोषण पनि पायौं ।
यो नेपालका लागि नौलो खालको विश्वविद्यालय हो । त्यसैले यो प्रकृतिको विश्वविद्यालय सञ्चालन गर्दै गर्दा सामना गर्नुपर्ने चुनौती केकस्ता हुन्छन् भन्ने बारेमा हामी आफै पनि यकिन भइसकेका छैनौं र यसबारे जानकार पनि थोरै छन् । नयाँ बाटो हिँडिरहेका छौं । कता जाने भनेर कसैलाई त सोध्नुपर्छ । त्यो ज्ञान प्राप्तिका लागि सम्मेलन आयोजना गरेका थियौं । सकारात्मक र सहयोगी भूमिका खेलेको पायौं ।

विश्वविद्यालयले लिएको लक्ष्य चाहिँ के हो ?
हाम्रो हालको अर्जुनदृष्टि भनेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई कसरी विश्वस्तरको बनाउन सकिन्छ भन्नेमा छ । धेरैलाई यो कुरा सम्भव नलाग्ला । सकिन्छ र भनेर प्रश्न पनि गर्नुहोला । तर असम्भव भन्ने छैन । ३० वर्षअघि स्थापना भएको सिंगापुर युनिभर्सिटी हाल विश्वकै टप विश्वविद्यालयमा पर्दछ । हामीलाई पनि राज्यको स्तरबाट सरसहयोग मिल्यो भने त्यो असम्भव कुरा होइन । त्यसका लागि संस्थाले राम्रो दृष्टि बनाउने र रणनीतिको अवलम्बन गर्नुपर्ने हुन्छ । ३० वर्षअघि सिंगापुरले बल्ल विकास गर्न थालिरहेको थियो । राजनीतिक प्रष्टतादेखि आर्थिक नीति अनुकूल हुँदा ऊ माथिल्लो स्तरसम्म पुगेको हो । विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँदै गर्दा हामीले “समृद्ध र न्यायसंगत नेपाल”को पनि परिकल्पना गरिरहेका छौं । भिजनको कुरा गर्दा अन्तर्राष्ट्रिय रह्यो । मिसन चाहिँ स्थानीय हो ।

प्रायः शैक्षिक संस्थाहरूको कक्षाकोठामा हुने सिकाइ र बाहिर काम गर्ने ठाउँमा एक खालको ठूलो अन्तर रहेको छ भन्ने गुनासो सुन्दै आएका छौं । नेपालको विकासका लागि जनशक्ति उत्पादन गर्दै गर्दा सैद्धान्तिक र व्यवहारिक ज्ञानबीचको खाडल पुर्न चाहिँ के गरिरहनुभएको छ ?
हामीले हाल पूर्वाधार, डिजिटल टेक्नोलोजी, कृषि तथा वन र आइटी क्षेत्रमा कार्यक्रम सञ्चालन गरिराखेका छौं । अध्ययन तथा अनुसन्धान त्यही क्षेत्रलाई आधार बनाएर गरिने हुन्छ । हामीले सोचेको कुरा चाहिँ के हो भने हाम्रो रिसर्चहरू तुलनात्मक ढंगले नेपालको लागि लाभ हुने क्षेत्रमा मात्र सीमित छन् । सबैतिर हात हालेर त सफल भइँदैन । नेपालले लाभ लिन सक्ने ठाउँ भनेको केमा हो भन्दा कृषि, वन पैदावार, पर्यटन, जैविक विविधता र संस्कृतिको क्षेत्रमा हो । अनुसन्धानलाई केवल कागतमा रिपोर्टको रूपमा मात्रै बुझाउनेभन्दा पनि अनुसन्धानले दिएको निष्कर्ष र सुझावलाई अर्थतन्त्रसँग कसरी जोड्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।
अनुसन्धान र थेसिसका रिपोर्ट दराजमा मात्र थन्किनुहुँदैन । त्यसले देखिने गरेर नै केही आउटपुट दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । विद्यार्थीले गरेको अनुसन्धानको व्यावसायिक महत्त्व हुन्छ । त्यसका लागि नेपालका उद्यमीसँग सहकार्य पनि गरिरहेका छौं । नेपाली उद्योगलाई कसरी सपोर्ट गर्न सकिन्छ भनेर छलफलमा छौं । नेपालका उद्योगले लगानीदेखि ट्रायल तथा प्रोटोटाइप बनाउने र अनुसन्धान गर्ने सबै काम एक्लै नै गर्दै आएका छन् । त्यो प्राविधिक पक्षको सहयोग हाम्रो विश्वविद्यालयले गर्न सक्छ । यसरी उद्योगलाई पनि टेवा पुग्छ । विभिन्न विश्वविद्यालयसँग पनि हाम्रो सहकार्य हुन्छ ।

यस विश्वविद्यालयमा अध्ययन गर्न विद्यार्थीले केकस्तो चरण पार गर्नुपर्छ ? अनि उच्च शिक्षालाई समावेशी र पहुँचयोग्य बनाउन केकस्ता रणनीति लिनुभएको छ ?
हामीले विभिन्न सात वटा कुरा हेर्छाैं । मदन भण्डारी विश्वविद्यालयमा भर्ना हुन त सुरुमा विद्यार्थीमा फुल टाइम अनुसन्धान गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ । लगनशीलता हुनुपर्छ । पछि बीचैमा छोडेर जाँदा हामीलाई पनि राम्रो लाग्दैन, विद्यार्थीलाई पनि राम्रो लाग्ने कुरा भएन । हामी विद्यार्थीले अगाडिका शैक्षिक कार्यक्रमहरूमा कस्तो प्रदर्शन गरेको छ भन्ने पनि हेर्छाैं । तर त्यतिमै सीमित भने हुँदैनौं । विद्याथीले के विषयमा अनुसन्धान गर्न चाहेको हो, त्यो टपिकको प्रपोजल पनि हेर्छाैं । रिसर्च र प्रबलम स्टेटमेन्ट लेख्न लगाउँछौं । विद्यार्थीका विषयगत ज्ञान र अन्य सीप केके छन् ? त्यो पनि हेर्छाैं । सँगै परामर्श पनि दिन्छौं । विद्यार्थीले अनुसन्धान गर्न चाहेको विषय यस विश्वविद्यालयमा उपलब्ध छैन भने सोही अनुसारको सल्लाह दिन्छौं । सँगै अन्तर्वार्ता पनि लिइन्छ । विद्यार्थीको एटिच्युड पनि हेर्छौं ।
आर्थिक पृष्ठभूमिका कारण विद्यार्थी पढ्नबाट वञ्चित नहोस् भन्ने कुरामा हामी सधैं कटिबद्ध छौं । समावेशिताको कुरा गर्नुहुन्छ भने यस विश्वविद्यालयमा हाल अध्ययन गरिरहेका विद्यार्थीहरू सबै सामान्य आर्थिक पृष्ठभूमिबाट आउनुभएको छ । केही विद्यार्थीहरूलाई छात्रवृत्ति पनि प्रदान गरिहेका छौं ।

उत्तीर्ण भएका विद्यार्थीहरूलाई कार्यक्षेत्रसम्म जोड्नका लागि विश्वविद्यालयले कस्तो भूमिका खेल्छ ?
निश्चय पनि विश्वविद्यालय भनेको बेरोजगार उत्पादन गर्ने ठाउँ होइन । विश्वविद्यालयको भूमिका रहन्छ नै । हामीले मात्र होइन सबै विश्वविद्यालयले त्यो कुरा सम्बोधन गर्न सक्नुपर्छ । विद्यार्थीलाई ऊर्जा प्रदान होस् भनेर स्कोलरसीपको पनि व्यवस्था गरेका छौं । हाम्रा विद्यार्थीलाई देशमै काम गर्नुहोला भनेर प्रोत्साहन र अनुरोध पनि गरिरहेका छौं । यहाँ उत्पादित जनशक्ति विदेश जाँदा त हाम्रो लगानी नासिएर जान्छ । त्यो भएर नेपालमै काम गर्नुस् अनि यदि तपाईंहरूले खोजेको जस्तो काम पाउनुभएन भने विश्वविद्यालयले त्यसको ग्यारेन्टी लिन्छ भनेर विद्यार्थीसँग प्रतिबद्धता जनाएका छौं । त्यसका लागि विभिन्न संघसंस्था तथा उद्योगसँग पनि सहकार्य गरिरहेका छौं ।

आगामी दशकका योजना केके छन् ?
अहिले हामी सुरुवाती अवस्थामा छौं । भर्खर खुट्टा चाल्दै छौं । अहिले पूर्वाधार निर्माणको काममा छौं । विश्वविद्यालयमा धेरै विद्यार्थीभन्दा पनि गुणयुक्त विद्यार्थी आकर्षित गर्न लागिपरेका छौं । नेपालमा केही पनि हुँदैन भन्ने सोच विकास भइरहेको बेला यहाँ सम्भावना र अवसर छ भन्ने सन्देश हामीले दिन चाहेका छौं । त्यसैले जनशक्तिलाई देशको अर्थतन्त्रसँग गाँस्न खोजेका हौं । अरूका नजरमा नपरेका रिसर्च क्षेत्र नेपालमा छन् । हामीले त्यसलाई समाएर अगाडि बढ्न सक्छौं । यो क्षेत्रमा नयाँ भएकाले अन्य विश्वविद्यालयबाट पनि नयाँ सिक्ने कुराहरू छन् । विद्यार्थीलाई उद्यमीको रूपमा रूपान्तरण गर्नु पनि हाम्रो प्रमुख योजना हो ।

हाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई केही भन्न चाहनुहुन्छ ?
हामीकहाँ आउनुभएका विद्यार्थीलाई धेरै धन्यवाद भन्न चाहन्छु । घरपरिवार छाडेर आउनुभएको छ । पुरानो जमानामा गुरुकुलमा गएर पढेको जस्तै हो । अनुसन्धान गर्नुपर्छ । जबसम्म देश बन्दैन तबसम्म बाहिरका मुलुकले हेप्छन् । देशको इज्जत हाम्रो कर्ममा निर्भर छ । देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषय मनन गर्नुपर्छ । त्यही भएर नै हामीले “समृद्ध र न्यायसंगत नेपाल” को अवधारणा लिएर आगाडि बढ्न खोजेका हौं । देशमा केही पनि छैन भनेर भन्न सकिन्छ तर देश बनाउन जिम्मा त आफूले नै लिनुपर्छ, कदम आफूले नै चाल्नुपर्छ ।
https://www.youtube.com/watch?v=fpw0LmdWGeg


































