National life

“मदन भण्डारी विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य लिएका छौं” (अन्तर्वार्ता)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ जेठ २०८२, आइतबार
1.6kShares
“मदन भण्डारी विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य लिएका छौं” (अन्तर्वार्ता)
ncell

थाहा नगरपालिकाको चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले अनुसन्धान केन्द्रित स्नातकोत्तर तथा विद्यावारिधि कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । विश्वविद्यालयले समृद्ध तथा न्यायसंगत नेपाल निर्माण गर्दै जनशक्ति उत्पादन गर्नुलाई आफ्नो मुख्य लक्ष्य मानेको छ । यसै विषयमा रहेर आर्थिकभ्वाइसका सम्पादक बिजय फुयाँलले विश्वविद्यालयका निर्देशक कीर्ति कुसुम जोशीसँग कुराकानी गरेका छन्। । प्रस्तुत छ निर्देशक कीर्ति कुसुम जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश :

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले भर्खरै एउटा अन्तर्राष्ट्रिय सम्मेलन गर्यो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसका उपलब्धि केके रहे ? विश्वविद्यालयको अनुसन्धान प्रवर्द्धनमा यसले कस्तो भूमिका खेलेको पाउनुहुन्छ ?

२०७९ सालमा स्थापित यो विश्वविद्यालय नेपालको पहिलो अनुसन्धान केन्द्रित प्राविधिक विश्वविद्यालय हो । यहाँ स्नातकोत्तर (मास्टर्स) र विद्यावारिधि (पिएचडी) मा गरी विभिन्न पाँच वटा कार्यक्रम सञ्चालित छन् । अन्य विश्वविद्यालयभन्दा यहाँ के फरक हुन्छ भने यहाँ विद्यार्थीहरू पूर्णकालीन अनुसन्धानमा केन्द्रित हुन्छन् । दुई तीन वर्षको शैक्षिक कार्यक्रमभरि विद्यार्थीले अनुसन्धानको मात्र काम गर्छन् ।

यसलाई कसरी विश्वस्तरीय विश्वविद्यालय बनाउन सकिन्छ भन्नेमा हामी केन्द्रित छौं । त्यो क्रममा सरकार र विभिन्न संस्थाबाट सहयोग प्राप्त भइराखेकै छ । हामीले यो खालको अन्तर्राष्ट्रिय सम्मेलन तेस्रो पटक आयोजना गरेका हौं । विदेशीदेखि स्वदेशी सबै सरोकारवालाहरूसँग छलफल भएको छ । सबैको साथ र सहयोग प्राप्त भइराखेको छ । सम्मेलनका दौरान विश्वविद्यालय अनुदान आयोग लगायत सरोकारवालाहरूको क्षेत्रबाट विभिन्न सल्लाह, सुझाव र पृष्ठपोषण पनि पायौं ।

यो नेपालका लागि नौलो खालको विश्वविद्यालय हो । त्यसैले यो प्रकृतिको विश्वविद्यालय सञ्चालन गर्दै गर्दा सामना गर्नुपर्ने चुनौती केकस्ता हुन्छन् भन्ने बारेमा हामी आफै पनि यकिन भइसकेका छैनौं र यसबारे जानकार पनि थोरै छन् । नयाँ बाटो हिँडिरहेका छौं । कता जाने भनेर कसैलाई त सोध्नुपर्छ । त्यो ज्ञान प्राप्तिका लागि सम्मेलन आयोजना गरेका थियौं । सकारात्मक र सहयोगी भूमिका खेलेको पायौं ।

विश्वविद्यालयले लिएको लक्ष्य चाहिँ के हो ?

हाम्रो हालको अर्जुनदृष्टि भनेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई कसरी विश्वस्तरको बनाउन सकिन्छ भन्नेमा छ । धेरैलाई यो कुरा सम्भव नलाग्ला । सकिन्छ र भनेर प्रश्न पनि गर्नुहोला । तर असम्भव भन्ने छैन । ३० वर्षअघि  स्थापना भएको सिंगापुर युनिभर्सिटी हाल विश्वकै टप विश्वविद्यालयमा पर्दछ । हामीलाई पनि राज्यको स्तरबाट सरसहयोग मिल्यो भने त्यो असम्भव कुरा होइन । त्यसका लागि संस्थाले राम्रो दृष्टि बनाउने र रणनीतिको अवलम्बन गर्नुपर्ने हुन्छ । ३० वर्षअघि सिंगापुरले बल्ल विकास गर्न थालिरहेको थियो । राजनीतिक प्रष्टतादेखि आर्थिक नीति अनुकूल हुँदा ऊ माथिल्लो स्तरसम्म पुगेको हो । विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँदै गर्दा हामीले “समृद्ध र न्यायसंगत नेपाल”को पनि परिकल्पना गरिरहेका छौं । भिजनको कुरा गर्दा अन्तर्राष्ट्रिय रह्यो । मिसन चाहिँ स्थानीय हो ।

प्रायः शैक्षिक संस्थाहरूको कक्षाकोठामा हुने सिकाइ र बाहिर काम गर्ने ठाउँमा एक खालको ठूलो अन्तर रहेको छ भन्ने गुनासो सुन्दै आएका छौं । नेपालको विकासका लागि जनशक्ति उत्पादन गर्दै गर्दा सैद्धान्तिक र व्यवहारिक ज्ञानबीचको खाडल पुर्न चाहिँ के गरिरहनुभएको छ ?

हामीले हाल पूर्वाधार, डिजिटल टेक्नोलोजी, कृषि तथा वन र आइटी क्षेत्रमा कार्यक्रम सञ्चालन गरिराखेका छौं । अध्ययन तथा अनुसन्धान त्यही क्षेत्रलाई आधार बनाएर गरिने हुन्छ । हामीले सोचेको कुरा चाहिँ के हो भने हाम्रो रिसर्चहरू तुलनात्मक ढंगले नेपालको लागि लाभ हुने क्षेत्रमा मात्र सीमित छन् । सबैतिर हात हालेर त सफल भइँदैन । नेपालले लाभ लिन सक्ने ठाउँ भनेको केमा हो भन्दा कृषि, वन पैदावार, पर्यटन, जैविक विविधता र संस्कृतिको क्षेत्रमा हो । अनुसन्धानलाई केवल कागतमा रिपोर्टको रूपमा मात्रै बुझाउनेभन्दा पनि अनुसन्धानले दिएको निष्कर्ष र सुझावलाई अर्थतन्त्रसँग कसरी जोड्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।

अनुसन्धान र थेसिसका रिपोर्ट दराजमा मात्र थन्किनुहुँदैन । त्यसले देखिने गरेर नै केही आउटपुट दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । विद्यार्थीले गरेको अनुसन्धानको व्यावसायिक महत्त्व हुन्छ । त्यसका लागि नेपालका उद्यमीसँग सहकार्य पनि गरिरहेका छौं । नेपाली उद्योगलाई कसरी सपोर्ट गर्न सकिन्छ भनेर छलफलमा छौं । नेपालका उद्योगले लगानीदेखि ट्रायल तथा प्रोटोटाइप बनाउने र अनुसन्धान गर्ने सबै काम एक्लै नै गर्दै आएका छन् । त्यो प्राविधिक पक्षको सहयोग हाम्रो विश्वविद्यालयले गर्न सक्छ । यसरी उद्योगलाई पनि टेवा पुग्छ । विभिन्न विश्वविद्यालयसँग पनि हाम्रो सहकार्य हुन्छ ।

यस विश्वविद्यालयमा अध्ययन गर्न विद्यार्थीले केकस्तो चरण पार गर्नुपर्छ ? अनि उच्च शिक्षालाई समावेशी र पहुँचयोग्य बनाउन केकस्ता रणनीति लिनुभएको छ ?

हामीले विभिन्न सात वटा कुरा हेर्छाैं । मदन भण्डारी विश्वविद्यालयमा भर्ना हुन त सुरुमा विद्यार्थीमा फुल टाइम अनुसन्धान गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ । लगनशीलता हुनुपर्छ । पछि बीचैमा छोडेर जाँदा हामीलाई पनि राम्रो लाग्दैन, विद्यार्थीलाई पनि राम्रो लाग्ने कुरा भएन । हामी विद्यार्थीले अगाडिका शैक्षिक कार्यक्रमहरूमा कस्तो प्रदर्शन गरेको छ भन्ने पनि हेर्छाैं । तर त्यतिमै सीमित भने हुँदैनौं । विद्याथीले के विषयमा अनुसन्धान गर्न चाहेको हो, त्यो टपिकको प्रपोजल पनि हेर्छाैं । रिसर्च र प्रबलम स्टेटमेन्ट लेख्न लगाउँछौं । विद्यार्थीका विषयगत ज्ञान र अन्य सीप केके छन् ? त्यो पनि हेर्छाैं । सँगै परामर्श पनि दिन्छौं । विद्यार्थीले अनुसन्धान गर्न चाहेको विषय यस विश्वविद्यालयमा उपलब्ध छैन भने सोही अनुसारको सल्लाह दिन्छौं । सँगै अन्तर्वार्ता पनि लिइन्छ । विद्यार्थीको एटिच्युड पनि हेर्छौं ।

आर्थिक पृष्ठभूमिका कारण विद्यार्थी पढ्नबाट वञ्चित नहोस् भन्ने कुरामा हामी सधैं कटिबद्ध छौं । समावेशिताको कुरा गर्नुहुन्छ भने यस विश्वविद्यालयमा हाल अध्ययन गरिरहेका विद्यार्थीहरू सबै सामान्य आर्थिक पृष्ठभूमिबाट आउनुभएको छ । केही विद्यार्थीहरूलाई छात्रवृत्ति पनि प्रदान गरिहेका छौं ।

उत्तीर्ण भएका विद्यार्थीहरूलाई कार्यक्षेत्रसम्म जोड्नका लागि विश्वविद्यालयले कस्तो भूमिका खेल्छ ?

निश्चय पनि विश्वविद्यालय भनेको बेरोजगार उत्पादन गर्ने ठाउँ होइन । विश्वविद्यालयको भूमिका रहन्छ नै । हामीले मात्र होइन सबै विश्वविद्यालयले त्यो कुरा सम्बोधन गर्न सक्नुपर्छ । विद्यार्थीलाई ऊर्जा प्रदान होस् भनेर स्कोलरसीपको पनि व्यवस्था गरेका छौं । हाम्रा विद्यार्थीलाई देशमै काम गर्नुहोला भनेर प्रोत्साहन र अनुरोध पनि गरिरहेका छौं । यहाँ उत्पादित जनशक्ति विदेश जाँदा त हाम्रो लगानी नासिएर जान्छ । त्यो भएर नेपालमै काम गर्नुस् अनि यदि तपाईंहरूले खोजेको जस्तो काम पाउनुभएन भने विश्वविद्यालयले त्यसको ग्यारेन्टी लिन्छ भनेर विद्यार्थीसँग प्रतिबद्धता जनाएका छौं । त्यसका लागि विभिन्न संघसंस्था तथा उद्योगसँग पनि सहकार्य गरिरहेका छौं ।

आगामी दशकका योजना केके छन् ?

अहिले हामी सुरुवाती अवस्थामा छौं । भर्खर खुट्टा चाल्दै छौं । अहिले पूर्वाधार निर्माणको काममा छौं । विश्वविद्यालयमा धेरै विद्यार्थीभन्दा पनि गुणयुक्त विद्यार्थी आकर्षित गर्न लागिपरेका छौं । नेपालमा केही पनि हुँदैन भन्ने सोच विकास भइरहेको बेला यहाँ सम्भावना र अवसर छ भन्ने सन्देश हामीले दिन चाहेका छौं । त्यसैले जनशक्तिलाई देशको अर्थतन्त्रसँग गाँस्न खोजेका हौं । अरूका नजरमा नपरेका रिसर्च क्षेत्र नेपालमा छन् । हामीले त्यसलाई समाएर अगाडि बढ्न सक्छौं । यो क्षेत्रमा नयाँ भएकाले अन्य विश्वविद्यालयबाट पनि नयाँ सिक्ने कुराहरू छन् । विद्यार्थीलाई उद्यमीको रूपमा रूपान्तरण गर्नु पनि हाम्रो प्रमुख योजना हो ।

हाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई केही भन्न चाहनुहुन्छ ?

हामीकहाँ आउनुभएका विद्यार्थीलाई धेरै धन्यवाद भन्न चाहन्छु । घरपरिवार छाडेर आउनुभएको छ । पुरानो जमानामा गुरुकुलमा गएर पढेको जस्तै हो । अनुसन्धान गर्नुपर्छ । जबसम्म देश बन्दैन तबसम्म बाहिरका मुलुकले हेप्छन् । देशको इज्जत हाम्रो कर्ममा निर्भर छ । देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषय मनन गर्नुपर्छ । त्यही भएर नै हामीले “समृद्ध र न्यायसंगत नेपाल” को अवधारणा लिएर आगाडि बढ्न खोजेका हौं । देशमा केही पनि छैन भनेर भन्न सकिन्छ तर देश बनाउन जिम्मा त आफूले नै लिनुपर्छ, कदम आफूले नै चाल्नुपर्छ ।

https://www.youtube.com/watch?v=fpw0LmdWGeg

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?