काठमाडौँ । यतिबेला नेपाल राष्ट्रबैंकको १९औ गभर्नरको को बन्छ भन्ने चर्चा उत्कर्षमा छ । वित्तीय क्षेत्रमा सबैको ध्यान खिचेको आगामी गभर्नरबारे विभिन्न चर्चा परिचर्चा भइरहेको समयमा मुख्यता कस्तो गभर्नर आउने भन्ने प्रश्न मुख्य बनेर खडा भएको छ ।
नयाँ गभर्नर प्रकरणकै कारण देशमा भएका विभिन्न घटनाक्रम एकपछि अर्को गर्दै छायामा पर्दै गएको छ। सरकारले गभर्नर छनोटका लागि प्रक्रिया सुरु गरेकोसँगै सलबलाएको उक्त विषयले हाल आएर झनै चर्चाको रूपमा स्थापित भएको छ ।
राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया सुरु हुँदै गर्दा अर्थ मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको उमेरहद नै हटाए पश्चात् यो विषयले थप बहस सृजना गरेको हो । एकाएक उमेर हद्दको मापदण्ड नै संशोधन भएसँगै गभर्नर नियुक्तिमा स्वार्थ समूहको प्रभाव सतहमै देखिन थालेको टिप्पणी हुँदै आएको छ । ऐन र नियुक्तिका मापदण्डमाथि हुने छेडखानीले यो विषयलाई प्रस्ट्याएको केही वित्तीय विश्लेषकहरूको भनाई छ ।
गभर्नर नियुक्तिमा ठुलो चलखेल हुन थालेको विषय मच्चिरहेको समयमा आगामी गभर्नरमा हुनुपर्ने कुरा के हो भनेर आर्थिक भ्वाइसले पूर्व गभर्नर डा.चिरञ्जीवी नेपाललाई सोधेको छ । प्रस्तुत छ नेपालको धारणा ।
पहिलो कुरा त गभर्नर बन्न चाहिने योग्यता र क्षमताको विषयमा त कानुनले नै मापदण्ड बनाएको छ । यसै उपर टेकेर प्रक्रिया अगाडि बढाइने भएको कारण त्यसका लागी योग्य हुनु त जरुरी नै भयो त्यस बाहेकका सन्दर्भमा हामीले आफ्नो धारणा राख्ने हो ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था कायम छ छदै छ ।
तर त्यो राज्यले नै गरेको कानुनी व्यवस्था बाहेक पनि नेपालको हकमा मात्रै हैन विश्वभरका केन्द्रीय बैकको नेतृत्व सम्हाल्ने गभर्नरमा पहिलो कुरा त चरित्रवाण चाहिन्छ भन्ने मेरो धारणा हो । यो शब्दमा धेरै कुरा लुकेको छ भन्ने मलाई लाग्छ । मेरो आफ्नै अनुभवसँग तुलना गरेर हेर्ने हो भने पनि त्यो पद ग्रहण गर्ने जोकोही व्यक्तिले निकै धेरै चुनौती खेप्नुपर्ने हुन्छ ।
नेताहरूले एकपछि अर्को कामको निमित्त प्रयोग गर्छन्, उनीहरू आफ्नो स्वार्थ त्यो गरिमामय पदबाट पूर्ति गर्ने चाहाना राख्छन् यसकारण सकिन्छ तिनीहरूको भनाइलाई मिलानको बिन्दु खोजेर अगाडि बढ्ने सकिँदैन भने र बैंक वित्तीय संस्थाको हितमा हुने काम प्रधानमन्त्रीकै आदेश आए पनि नाइँ हुन्न, रोक्दिन भन्ने अठोट भएको गभर्नर अबको आवश्यकता हो भन्ने मेरो धारणा हो ।
अर्को भनेको बैंकिङ, वित्तीय, वाणिज्य र व्यवस्थापन क्षेत्रमा दक्खल राख्ने उल्लेखित विषयमा पुरापुर ज्ञान भएको र त्यो ज्ञानलाई प्रयोगमा ल्याउने हुन जरुरी छ । हाम्रो मुख्य समस्या भनेको सिस्टममा हो । पोलिटिकल सिस्टम खराब भएको कारण वित्तीय क्षेत्रको गरिमा जहाँ हुनुपर्ने हो त्यहाँ जान सकेको अवस्था नै छैन । यसकारण आगामी गभर्नरमा नो हुँदैन, गर्दिन वा सक्दिन भनेर बेठिक कामको विरुद्ध उभिन जरुरी छ । यसले एउटा गतिलो सिस्टमको सुरुवात गर्छ भन्ने मलाई लाग्दछ ।
हाम्रो जस्तो मुलुकमा गभर्नरलाई उच्च तहबाट प्रेसर हुन्छ । यो प्रेसरलाई सन्तुलन मिलाउन सक्ने हुनुपर्छ । मान्छेले उच्च तहबाट भनेको कुरा जे पनि मान्छु भन्ने सोचले आउँदा यसले संस्थालाई बिगार्छ । र अर्थतन्त्रको सबै पक्षमा सन्तुलन बिग्रिन जान्छ यसकारण दर्बिलो गभर्नको अबको आवश्यकता हो भन्ने मेरो धारणा हो । नयाँ गभर्नरले मुद्रा स्फीति कम गर्न पहल गर्न सक्नुको साथै उच्च नैतिक चरित्र निर्माण गर्दै निर्णय गर्ने सक्ने क्षमता राख्नुपर्छ भन्ने मेरो मान्यता हो ।
मेरो कुनै व्यक्ति र पार्टी विशेषसँग कुनै लगाव छैन र मेरो कसैसँग बाक्लो चिनजान पनि छैन । मैले वर्तमान परिस्थितिलाई बुझेर र सरकारी चाहनालाई पनि अन्दाज गरेर भन्दै छु कि आजको गभर्नरले भोलीको प्रधानमन्त्रीकै गरिमा सम्हाल सक्ने हुनपर्छ । राजनीतिक क्षेत्रबाट आउनुहुँदैन भन्ने पनि होइन । राजनीति बुझेको आउन पनि जरुरी छ तर त्यहाँ आएर पार्टी विशेषको काममा फोस हुने, निश्चित पाटी विशेषको भलोमा काम गर्ने गभर्नर हाम्रो आवश्यकता होइन भन्ने मेरो धारणा हो ।
गभर्नरको काम, कर्तव्य र अधिकार राष्ट्र बैंकको ऐनमा स्पष्ट छ । समितिले गरेका निर्णयहरू कार्यान्वयन गर्ने, बैंकको सञ्चालन तथा व्यवस्थापन गर्ने,बैंकले गर्नुपर्ने कार्यहरू व्यवस्थित गर्ने, अन्तर्राष्ट्रिय सङ्घ, संस्थामा बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने,गराउने, मौद्रिक तथा विदेशी विनिमय सम्बन्धी नीति कार्यान्वयन गर्ने, गराउने, वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तथा कर्जाको ब्याज दर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने अधिकार गभर्नरमा निहित हुन्छ ।


































