काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको भन्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न तथा नियुक्तिको कानुनी आधार र औचित्य सार्वजनिक गर्न माग गर्दै अभियानले विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले उक्त कार्यक्रम सरकारको ध्यानाकर्षण गराउन गरिएको सांकेतिक विरोध भएको बताए ।
उनले सरकारले विवादित निर्णयहरू सच्याउनुपर्नेमा जोड दिँदै आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय तत्काल खारेज गर्न माग गरे ।
‘यो आन्दोलनभन्दा पनि सरकारलाई गराइएको सांकेतिक ध्यानाकर्षण हो । सरकारले गरेका विवादित निर्णयबाट पछि हटेन भने आन्दोलन कस्तो हुन्छ भन्ने कुरा पछि देखाउँछौँ,’ सिंहले भने ।
सरकारले आफूखुसी निर्णय गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै सिंहले नियुक्तिसम्बन्धी निर्णयप्रति अभियानको गम्भीर आपत्ति रहेको उल्लेख गरे ।
उनका अनुसार उक्त नियुक्ति खारेज हुनुपर्ने माग राष्ट्रिय जेनजी नागरिक अभियानको मात्र नभई विरोध कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूको समेत रहेको छ ।
अभियानले नियुक्तिसम्बन्धी विवादको निष्पक्ष छानबिन गरी निर्णयको कानुनी आधार र औचित्य स्पष्ट पार्न सरकारसँग माग गरेको छ ।






































