काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक र आधारहीन विज्ञापन तुरुन्त हटाउन निर्देशन दिएको छ। यस्ता सामग्री फेला परेमा कानुनी कारबाही अघि बढाइने चेतावनी पनि बोर्डले दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चासोपछि मन्त्री विक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई निगरानी र कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
बोर्डले जारी गरेको सूचनामा आवश्यक लेबलिङ, ब्रान्डिङ र आधिकारिक प्रमाणीकरणबिना औषधिजन्य सामग्रीको प्रचार सामाजिक सञ्जालमा बढ्दो रहेको उल्लेख गर्दै त्यस्ता गतिविधि तुरुन्त रोक्न आग्रह गरिएको छ।
विशेषगरी कपाल उमार्ने, तौल घटाउने, नसाको रोग निको पार्ने वा शरीर शुद्ध गर्ने जस्ता दाबी गरिएका सामग्रीको वैज्ञानिक आधार र आधिकारिक स्वीकृतिबिना प्रचार भइरहेको पाइएको बोर्डले जनाएको छ। यस्तो प्रचारले उपभोक्तालाई गलत उपचारतर्फ आकर्षित गर्ने र आर्थिक क्षति पुर्याउने खतरा बढाएको बताइएको छ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६विपरीत कुनै पनि विज्ञापन नगर्न सम्बन्धित सबै पक्षलाई सचेत गराउँदै बोर्डले उल्लंघन भएमा उजुरीका आधारमा अनुसन्धान र कारबाही अघि बढाइने स्पष्ट पारेको छ।


































