काठमाडौँ । हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानतर्फ यात्रुहरूलाई राहत मिल्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले इन्धन सरचार्ज घटाउँदै नयाँ दर तत्काल लागू गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको हो।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि प्राधिकरणले सोहीअनुसार सरचार्ज समायोजन गरेको हो। यससँगै इन्धनको मूल्य २६९ रुपैयाँबाट घटेर २२९ रुपैयाँ कायम भएको छ।
प्राधिकरणका अनुसार संशोधित सरचार्ज दर आजदेखि नै लागू गर्नुपर्नेछ। नयाँ व्यवस्था पालना नगर्ने वायुसेवा कम्पनीमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
नयाँ दर लागू भएसँगै सुगम र दुर्गम दुवै क्षेत्रका उडान भाडामा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।










































