काठमाडौं । अमेरिकाले आगामी नोभेम्बर ३ को निर्वाचनपछि इरानमाथि पुनः सैन्य आक्रमण गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै पश्चिम एसियाका सहयोगी राष्ट्रहरूलाई सतर्क रहन आग्रह गरेको छ। सम्भावित सैन्य कारबाही र त्यसको जवाफमा इरानले गर्न सक्ने प्रत्याक्रमणलाई लिएर अमेरिकाले क्षेत्रीय साझेदारहरूलाई तयारी अवस्थामा रहन भनेको हो।
एसोसिएटेड प्रेस (एपी) सँग कुरा गरेका दुई कूटनीतिज्ञका अनुसार अमेरिकी अधिकारीहरूले नयाँ सैन्य कारबाहीको सम्भावनाबारे सहयोगी राष्ट्रहरूलाई जानकारी गराएका छन्। उनीहरूले नाम सार्वजनिक नगर्ने सर्तमा यसबारे खुलासा गरेका हुन्। अमेरिकी अधिकारीहरूले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ हवाई आक्रमण गर्ने विषयमा अन्तिम निर्णय गरिसकेका छैनन्। तर, नोभेम्बर ३ को निर्वाचनपछि सैन्य कारबाही अघि बढ्न सक्ने संकेतले पश्चिम एसियामा तनाव थप बढ्ने आशंका गरिएको छ।
अमेरिकाले सहयोगी राष्ट्रहरूलाई सम्भावित सैन्य अभियान केही दिनसम्म चल्न सक्ने जानकारीसमेत दिएको कूटनीतिक स्रोतहरूले बताएका छन्। त्यस्तै, इरान र उसका निकटवर्ती समूहले प्रतिकार गरेमा द्वन्द्व थप लम्बिन सक्ने जोखिमप्रति पनि सचेत गराइएको छ।
विशेषगरी इरानले ऊर्जा केन्द्रलगायत महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाउन सक्ने सम्भावनालाई ध्यानमा राखेर तयारी गर्न अमेरिकाले क्षेत्रीय साझेदारहरूलाई आग्रह गरेको बताइएको छ। यस्तो अवस्था सिर्जना भएमा पश्चिम एसियाको सुरक्षा र ऊर्जा आपूर्तिमा गम्भीर असर पर्न सक्ने देखिन्छ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराग्चीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत आफ्नो देश कूटनीतिक प्रयासलाई सफल बनाउन इच्छुक रहेको बताएका छन्। उनका अनुसार मध्यस्थकर्तामार्फत अमेरिकासँग संवाद भइरहेको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) को परराष्ट्र मन्त्रालयले पनि दुवै पक्षलाई संयमता अपनाउन र तनाव घटाउने दिशामा अघि बढ्न आग्रह गरेको छ। मन्त्रालयले युद्धको सट्टा राजनीतिक समाधान खोज्नुपर्नेमा जोड दिएको छ।


































