एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने महत्त्वपूर्ण निर्वाचनका रूपमा हेरिएको मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ। अमेरिकी कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर तथा हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा राजनीतिक विज्ञापनमै करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ।
यस निर्वाचनले राष्ट्रपति ट्रम्पको नीतिप्रतिको जनसमर्थन परीक्षण गर्नुका साथै कङ्ग्रेसमा रिपब्लिकन पार्टीको नियन्त्रण कायम रहने वा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गर्ने भन्ने निर्धारण गर्नेछ।
अमेरिकी प्रतिनिधिसभाका कुल ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। हाल रिपब्लिकन पार्टीसँग २१८ र डेमोक्रेटिक पार्टीसँग २१४ सिट छन्। यस्तो अवस्थामा प्रतिनिधिसभामा बहुमत हासिल गर्न डेमोक्रेटले कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ।
त्यस्तै, सिनेटका १०० सिटमध्ये यस निर्वाचनमा ३५ सिटका लागि प्रतिस्पर्धा हुँदैछ। हाल रिपब्लिकनसँग ५३ सिट छन् भने डेमोक्रेटलाई समर्थन गर्ने दुई स्वतन्त्र सदस्यसहित विपक्षी पक्षसँग ४७ सिट छन्। सिनेटको नियन्त्रण लिन डेमोक्रेटले चार सिटको खुद लाभ हासिल गर्नुपर्नेछ।
विभिन्न मत सर्वेक्षणले राष्ट्रिय स्तरमा डेमोक्रेटिक पार्टीप्रति समर्थन बढी देखाएका छन्। पीबीएस न्युज, एनपीआर र मेरिस्टको सर्वेक्षणमा डेमोक्रेटलाई ५३ प्रतिशत तथा रिपब्लिकनलाई ४१ प्रतिशत समर्थन प्राप्त भएको थियो।
राष्ट्रपति ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर भने विभिन्न सर्वेक्षणमा ३२ देखि ४१ प्रतिशतसम्म देखिएको छ। एनबीसी न्युजको सर्वेक्षणमा ५५ प्रतिशत सहभागीले ट्रम्पका नीतिले अमेरिकी अर्थतन्त्रलाई हानि पुर्याएको बताएका थिए भने २६ प्रतिशतले ती नीतिले अर्थतन्त्रलाई सहयोग गरेको धारणा व्यक्त गरेका थिए।
सर्वेक्षणका यी परिणामले निर्वाचनअघि ट्रम्प प्रशासनका आर्थिक नीतिप्रति मतदाताको धारणा महत्त्वपूर्ण चुनावी मुद्दा बन्न सक्ने देखाउँछन्।
यस वर्षको मध्यावधि निर्वाचनमा राजनीतिक विज्ञापनका लागि अहिलेसम्मकै ठूलो रकम खर्च हुने अनुमान गरिएको छ। विज्ञापन अनुगमन कम्पनी एडइम्प्याक्टले यस निर्वाचन चक्रमा कुल विज्ञापन खर्च ११ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ। त्यस्तै, काइनेटिक पोलिटिकल इनसाइट्सले खर्च ११ अर्ब ९६ करोड डलर पुग्ने अनुमान गरेको छ।
सन् २०२२ को मध्यावधि निर्वाचनमा राजनीतिक विज्ञापनमा ८ अर्ब ९० करोड डलर खर्च भएको थियो। यस वर्षको अनुमानित खर्च त्यसको तुलनामा उल्लेख्य बढी हो।
क्यालिफोर्नियाको गभर्नर पदका लागि भएको प्रारम्भिक निर्वाचनमा मात्रै ३३ करोड अमेरिकी डलर विज्ञापनमा खर्च भएको थियो। यसले राज्यस्तरीय प्रतिस्पर्धामा समेत राजनीतिक दल र उम्मेदवारबीच ठूलो रकम खर्च गर्ने होड देखाउँछ।
यस वर्ष कङ्ग्रेसका प्रारम्भिक निर्वाचनमा २ हजार ४९७ उम्मेदवार सहभागी भएका थिए। प्रतिनिधिसभाका ४४ वटा प्रतिस्पर्धामा सन् २०२४ मा प्रमुख दलबाट उम्मेदवार बनेका व्यक्तिहरू पुनः प्रतिस्पर्धामा उत्रिएका छन्।


































