नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ । सहमतिअनुसार भारतले नेपाललाई भैरहवा हवाई रुट उपलब्ध गराउने भएको छ ।
दुई देशबीच जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति उल्लेख छ । उक्त सहमतिलाई कार्यान्वयन गर्न आवश्यक मोडालिटी तय गर्ने तथा दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्ताव टुंग्याउन प्राविधिक परामर्श गरिने जनाइएको छ ।
आज प्रधानमन्त्रीद्वयको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा हवाई रुटबारे उल्लेख गरिएको थिएन । तर, त्यसपछि जारी संयुक्त वक्तव्यमा भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने सहमति सार्वजनिक भएको हो ।
नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयमा सहमति जुटेसँगै भारतले पनि नेपालसँग बागडोग्रा विमानस्थलका लागि हवाई रुट मागेको थियो । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षीय वार्तामा नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्ने सहमति जुटेको हो ।
यससँगै नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रमा लामो समयदेखि कायम एउटा महत्त्वपूर्ण कूटनीतिक अवरोध हट्ने अपेक्षा गरिएको छ ।
दशकभन्दा लामो प्रयासपछि हवाई रुटमा सहमति
नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको थियो । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप हवाई रुट आवश्यक रहेको नेपालको माग थियो ।
अन्तर्राष्ट्रिय उडानका लागि सीमित प्रवेशमार्गमा निर्भर रहनुपर्दा नेपालको हवाई उड्डयन क्षेत्र प्रभावित हुँदै आएको छ । नयाँ प्रवेशमार्ग उपलब्ध भएपछि अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई नेपालका क्षेत्रीय विमानस्थलसम्म उडान सञ्चालन गर्न सहज हुने र हवाई उड्डयन क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा गरिएको छ ।
यसअघि पनि नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा हवाई रुटको विषय प्राथमिकताका साथ उठ्ने गरे पनि ठोस सहमति हुन सकेको थिएन । प्राविधिक विषय, हवाई सुरक्षा र हवाई क्षेत्र व्यवस्थापनका विषयमा दुई देशबीच मतभिन्नता रहँदै आएको थियो ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा भने यो विषयलाई प्राथमिकतामा राखिएको थियो । भ्रमणअघि नै दुवै देशका अधिकारीबीच हवाई रुटसम्बन्धी छलफल हुँदै आएको थियो ।
हवाई रुटमा सहमति जुट्नु नेपालले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरेको ठूलो लगानीको प्रतिफल प्राप्त गर्ने दिशामा महत्त्वपूर्ण कदम मानिएको छ । पर्याप्त अन्तर्राष्ट्रिय उडान रुटको अभावमा अपेक्षित व्यावसायिक गतिविधि हुन नसकिरहेका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि यसले नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।


































