काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा भएको सुरक्षा उल्लंघनले अन्तर्राष्ट्रिय क्रिप्टो बजारमा तरंग ल्याएको छ। घटनाबाट करिब ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक भएसँगै बिटक्वाइन, इथेरियमलगायत प्रमुख डिजिटल मुद्राको मूल्यमा गिरावट आएको छ।
समाचार संस्था रोयटर्सका अनुसार बाइनान्सले साझेदार संस्थाको सहयोगमा करिब ३ अर्ब डलर बराबरको सम्पत्ति रोक्न सफल भएको छ। बाँकी ३ अर्ब ३० करोड डलर बराबरको सम्पत्तिको अवस्थाबारे भने कम्पनीले स्पष्ट जानकारी दिएको छैन। सहसंस्थापक यी हेले सम्पूर्ण क्षतिको जिम्मेवारी कम्पनीले लिने बताएकी छन्।
कम्पनीको प्रारम्भिक अनुसन्धानअनुसार एक इन्जिनियरको ल्यापटप ह्याक भएपछि आक्रमणकारीले प्रणालीमा अनधिकृत पहुँच बनाएर डिजिटल सम्पत्ति निकालेका थिए।
घटनापछि शुक्रबार एसियाली बजारमा बिटक्वाइनको मूल्य ३ प्रतिशतभन्दा बढीले घटेर ७६ हजार ३६८ डलरमा झरेको छ। त्यस्तै, इथेरियम ३ प्रतिशतभन्दा बढीले घटेर २ हजार १७८ डलर र बाइनान्सको बीएनबी टोकन ५ प्रतिशतले घटेर ७०९.७० डलरमा कारोबार भएको छ।
यसको असर अमेरिकी सेयर बजारमा पनि परेको छ। क्रिप्टो एक्सचेन्ज क्वाइनबेसको सेयर ४.८ प्रतिशत र बिटक्वाइनमा ठूलो लगानी रहेको कम्पनी स्ट्राटेजीको सेयर करिब ६ प्रतिशतले घटेको छ।
ब्लकचेन विश्लेषक तथा क्रिप्टो क्षेत्रका विज्ञहरूले यसलाई इतिहासकै ठूलो ह्याकिङ घटनामध्ये एक हुन सक्ने बताएका छन्। विश्लेषकहरूका अनुसार यसले केन्द्रीयकृत क्रिप्टो एक्सचेन्जमा राखिएको डिजिटल सम्पत्तिको सुरक्षा र लगानीकर्ताको विश्वासमाथि प्रश्न उठाउन सक्छ।
बाइनान्सको सन् २०२५ को वार्षिक प्रतिवेदनअनुसार कम्पनीका विश्वभर ३३ करोड ५० लाख दर्ता भएका प्रयोगकर्ता छन्। कम्पनीले ग्राहकका तर्फबाट १६२ अर्ब ८० करोड डलर बराबरको सम्पत्ति अभिरक्षामा राखेको थियो।
यता, बाइनान्सले प्रयोगकर्ताको रकम सुरक्षित रहेको दाबी गरेको छ। सुरक्षा प्रणालीको जाँच तथा वालेट पूर्वाधार सुरक्षित बनाउने काम भइरहेको भन्दै कम्पनीले सावधानीस्वरूप निक्षेप र रकम झिक्ने सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ।


































