काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक भइरहेका आरोपहरू निराधार र सरकारद्वारा प्रायोजित भएको दाबी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै शर्माले कांग्रेसको विशेष महाधिवेशन विधि र प्रक्रियाअनुसार सम्पन्न भएको तथा निर्वाचन आयोगले समेत संविधानबमोजिम त्यसलाई अद्यावधिक गरिसकेको अवस्थामा नियोजित रूपमा भ्रम फैलाउन खोजिएको बताएका हुन्।
‘विशेष महाधिवेशन विधिसम्मत तरिकाले भएको थियो। त्यसलाई निर्वाचन आयोगले संविधानबमोजिम अद्यावधिक गरेको हो,’ उनले भने, ‘तर अहिले आर्थिक चलखेल भएको भन्दै बाहिर जुन विषय ल्याइएको छ, त्यो सरकारका तर्फबाट प्रायोजित ढङ्गले ल्याइएको हो। त्यो कुनै सत्य नभएको विषय हो।’
शर्माले कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको उल्लेख गर्दै महाधिवेशनबाट निर्वाचित कार्यसमिति विधि र प्रक्रियाअनुसार नै अघि बढिरहेको स्पष्ट पारे।
पत्रकार सम्मेलनमा उनले सञ्चारगृहमाथि भइरहेको दबाब र त्रासप्रति पनि आपत्ति जनाए। मिडिया हाउसका गेटमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन गर्न निर्देशन दिएको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
सरकारले सञ्चारमाध्यममाथि अनुचित दबाब सिर्जना गरिरहेको र विपक्षी दललाई बदनाम गर्ने उद्देश्यले तथ्यहीन आरोप फैलाइएको शर्माको आरोप छ। उनले यस्ता गतिविधि तत्काल रोक्न सरकारलाई चेतावनीसमेत दिएका छन्।


































