National life
cg eloctronics

युरोपेली केन्द्रीय बैंकको अध्यक्ष पद रिक्त हुँदै, नयाँ प्रमुख छान्ने प्रक्रिया सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|१३ कात्तिक २०८३, शुक्रबार
2.2kShares
युरोपेली केन्द्रीय बैंकको अध्यक्ष पद रिक्त हुँदै, नयाँ प्रमुख छान्ने प्रक्रिया सुरु
muktinatha bikash bank

काठमाडौं । युरोपेली केन्द्रीय बैंक (इसिबी) की अध्यक्ष क्रिस्टिन लेगार्डले आफ्नो निर्धारित कार्यकाल सकिनुभन्दा करिब नौ महिनाअघि नै पद छाड्ने भएकी छन्। उनले आगामी फेब्रुअरी ७ देखि लागू हुने गरी पदबाट राजीनामा दिने तयारी गरेकी हुन्।

लेगार्डको निर्णयले युरोपेली सङ्घ (इयु) का नेताहरूलाई सन् २०२७ को फ्रान्सको राष्ट्रपतीय निर्वाचनअघि नै नयाँ इसिबी अध्यक्ष चयन गर्ने बाटो खोल्नेछ। विश्लेषकहरूका अनुसार दक्षिणपन्थी उम्मेदवार मरिन ले पेन फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएमा नियुक्ति प्रक्रियामा पर्न सक्ने राजनीतिक प्रभाव रोक्ने उद्देश्यले पनि यो निर्णय गरिएको हुन सक्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

७० वर्षीया लेगार्डको कार्यकाल सन् २०२७ अक्टोबर ३१ सम्मका लागि तय थियो। उनले इसिबीको नेतृत्व गर्न पाउनुलाई गर्व र सौभाग्यको विषय बताउँदै राजनीतिक तटस्थताको दायित्वबाट मुक्त भएर मौद्रिक नीतिबाहेकका विषयमा पनि स्वतन्त्र रूपमा आफ्नो धारणा राख्न चाहेको बताएकी छन्।

इसिबीले युरो मुद्रा प्रयोग गर्ने २१ देशको ब्याजदर निर्धारण गर्छ। यसले घरजग्गा खरिददेखि उद्योग स्थापना गर्नेसम्मका लागि लिइने ऋणको लागतमा प्रत्यक्ष प्रभाव पार्छ। युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले नयाँ अध्यक्ष चयन प्रक्रिया तत्काल अघि बढाइने बताएका छन्।

everest bank

इसिबीका मुख्य अर्थशास्त्री फिलिप लेनको कार्यकाल आगामी मे ३१ मा सकिँदैछ भने कार्यकारी बोर्डकी सदस्य इसाबेल श्नाबेलले जनवरी ३ मा पद छाड्नेछिन्। तीनवटा वरिष्ठ पदमा नियुक्तिका लागि इयुका नेताहरूले डिसेम्बर १७–१८ मा हुने शिखर सम्मेलनअघि सहमति जुटाउने प्रयास गर्न सक्ने बेरेनबर्ग बैंकका प्रमुख अर्थशास्त्री होल्गर स्मिडिङले बताएका छन्।

इसिबीको नयाँ अध्यक्षका सम्भावित उम्मेदवारमा नेदरल्यान्ड्सको केन्द्रीय बैंकका पूर्वप्रमुख क्लास नट र बैंक फर इन्टरनेसनल सेटलमेन्ट्सका महाप्रबन्धक पाब्लो हर्नान्डेज डे कोस रहेका छन्। स्मिडिङका अनुसार फ्रान्समा ले पेन विजयी हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै राष्ट्रपति इमानुएल म्याक्रोन पदमा रहँदै नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी भइरहेको छ।

सन् २०१९ मा मारियो द्राघीको उत्तराधिकारीका रूपमा इसिबीको नेतृत्व सम्हालेकी लेगार्डको कार्यकालमा बैंकले कोभिड–१९ महामारीका बेला अर्थतन्त्रमा ऋण प्रवाह कायम राख्न महत्त्वपूर्ण कदम चालेको थियो। सन् २०२० मा बैंकले एक हजार ३५० अर्ब युरो बराबरको आपत्कालीन ऋणपत्र खरिद कार्यक्रम सञ्चालन गरेको थियो।

यसअघि सन् २०१२ मा तत्कालीन अध्यक्ष मारियो द्राघीले युरोको रक्षाका लागि आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता जनाएपछि युरोजोन ऋण सङ्कटका कारण उत्पन्न बजार अस्थिरता कम गर्न सहयोग पुगेको थियो।

लेगार्डको पदत्याग घोषणाले इसिबीको ब्याजदरसम्बन्धी निर्णयलाई समेत ओझेलमा पारेको छ। अमेरिकाको इरानसँगको युद्धका कारण तेलको मूल्य बढेर वार्षिक मुद्रास्फीति ३.८ प्रतिशत पुगे पनि इसिबीले प्रमुख ब्याजदर २.५ प्रतिशतमा यथावत् राखेको छ।

इसिबीले मुद्रास्फीतिको लक्ष्य दुई प्रतिशत निर्धारण गरेको छ। मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर महत्त्वपूर्ण मानिए पनि ऋणपत्र बजारमा बढ्दो ब्याजदरले निजी क्षेत्रका लागि ऋण महँगो बनाइरहेको विश्लेषकहरूको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?