काठमाडौं । फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा अमेरिका, मेक्सिको र क्यानडामा हुने यस महाकुम्भका लागि सहभागी ४८ वटै राष्ट्रले आफ्नो अन्तिम टोली घोषणा गरिसकेका छन्। प्रतियोगिता आगामी जुन ११ देखि सुरु हुने तयारीमा छ।
विश्वकप इतिहासमै पहिलो पटक ४८ टोली सहभागी हुने यस संस्करणमा कुल १०४ खेलहरू हुनेछन्।
प्रत्येक टोलीमा २६–२६ खेलाडी समावेश गरिएको छ, जसअनुसार यस पटक विश्वकपका लागि कुल १,२४८ खेलाडी मैदानमा उत्रिनेछन्। तीमध्ये केही खेलाडीहरू पहिले नै विश्वकप जितिसकेका अनुभवी छन् भने धेरैले पहिलो पटक विश्वकप अनुभव गर्नेछन्।
यसैबीच, करिब २२ खेलाडीले पहिले नै विश्वकपको उपाधि जितिसकेको तथ्य पनि सार्वजनिक भएको छ। साथै, ३०० भन्दा बढी खेलाडीले कम्तीमा एक पटक विश्वकप खेलिसकेका छन्।
तर यस संस्करणमा विशेष चर्चा पाएका चार खेलाडी छन्, जसले २००६ देखि २०२६ सम्म लगातार विश्वकप यात्रामा आफ्नो स्थान कायम राख्दै आएका छन्। उनीहरू आफ्नो करियरको अन्तिम विश्वकप खेल्ने तयारीमा रहेको अनुमान गरिएको छ।
यी चार खेलाडीमा अर्जेन्टिनाका लियोनेल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, क्रोएसियाका लुका मोड्रिच र मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचोआ रहेका छन्। २००६ देखि विश्वकप यात्रामा जोडिएका यी खेलाडीहरूले दुई दशक लामो अन्तर्राष्ट्रिय करियरलाई निरन्तरता दिँदै आएका छन्।
मेस्सी र रोनाल्डोले हालसम्म पाँच–पाँच विश्वकप खेलिसकेका छन् र २०२६ संस्करण खेल्न सफल भएमा उनीहरूले छैटौँ विश्वकप खेलेर नयाँ कीर्तिमान बनाउन सक्नेछन्। मोड्रिचले २००६ मा डेब्यु गरे पनि २०१० मा क्रोएसिया छनोट नभएकाले त्यो संस्करणमा सहभागी हुन पाएनन्।
त्यस्तै, ओचोआले २००६ मा टोलीमा स्थान पाए पनि त्यस वर्ष र २०१० मा खेल्ने अवसर पाएनन्। उनले भने २०१४ देखि २०२२ सम्म लगातार तीन विश्वकपमा मेक्सिकोको प्रतिनिधित्व गरेका थिए।


































