काठमाडौं । फिफा विश्वकप २०२६ पछि अन्तर्राष्ट्रिय फुटबल बजारमा युवा खेलाडीहरूको मूल्यमा तीव्र वृद्धि देखिएको छ, जसले विश्व फुटबलको नयाँ पुस्ताप्रतिको माग झनै बढाएको संकेत गरेको छ।
प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका स्टार खेलाडीहरूको मार्केट भ्यालु तीव्र रूपमा बढेको अन्तर्राष्ट्रिय विश्लेषणले देखाएको छ।
विश्वकप विजेता स्पेनका लामिन यामल र नर्वेका एर्लिङ हाल्यान्डको बजार मूल्य समान २२० मिलियन युरो पुगेको छ। फ्रान्सका केलिएन एम्बाप्पेको मूल्य २०० मिलियन युरो कायम रहँदा माइकल ओलिसे १७० मिलियन युरोसम्म उक्लिएका छन्।
त्यस्तै इंग्ल्यान्डका जुड बेलिंघमको मूल्य १६० मिलियन युरो पुगेको छ।
विशेषगरी स्पेनलाई उपाधि दिलाउन निर्णायक भूमिका खेलेका यामल हाल विश्वकै सबैभन्दा मूल्यवान् युवा खेलाडीका रूपमा उभिएका छन्। विश्वकपको प्रदर्शनकै आधारमा यी खेलाडीप्रति क्लबहरूको आकर्षण बढ्दा बजार मूल्य पनि उक्लिएको देखिन्छ।


































