काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस २०८३’ सफलतापूर्वक सम्पन्न भएको छ। ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ शनिबार आयोजित प्रतियोगितामा १,४०० भन्दा बढी धावक सहभागी भएका छन्।
बैंकको १८औँ वार्षिकोत्सवदेखि सुरु गरिएको रोड रेसको यो तेस्रो संस्करण हो। प्रतियोगितामा खुला र कर्पोरेट गरी २ विधाअन्तर्गत महिला र पुरुषका छुट्टाछुट्टै प्रतिस्पर्धा सञ्चालन गरिएको थियो।
खुलातर्फ १० किलोमिटर तथा कर्पोरेटतर्फ ५ किलोमिटर दूरीको दौड आयोजना गरिएको थियो। खुला विधाको दौड बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक, हात्तीगौडा हुँदै बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालयसम्म पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमा समाप्त भएको थियो।
त्यस्तै, कर्पोरेट विधाको दौड बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक हुँदै न्युरो अस्पताल, बाँसबारी पुगेर पुनः बालुवाटारमै समापन भएको थियो।
खुला विधाको पुरुषतर्फ १० किलोमिटर दूरी ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्दै तीर्थकुमार पुन प्रथम भएका छन्। महिलातर्फ ३९ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै राज्य रावलले उपाधि जितेकी छन्।
कर्पोरेट विधाको पुरुषतर्फ ५ किलोमिटर दौड १९ मिनेट २८ सेकेन्डमा पूरा गर्दै ईश्वर बुढाथोकी प्रथम भए। महिलातर्फ २६ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गर्दै दिव्या विष्टले पहिलो स्थान हासिल गरिन्।
प्रतियोगितामा खुला विधातर्फ प्रथमदेखि पाँचौँ स्थानसम्मका विजेतालाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। उनीहरूलाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
कर्पोरेट विधातर्फ प्रथमदेखि पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। उक्त विधाका विजेतालाई पनि मेडल तथा प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका अध्यक्ष दिलिप प्रताप खाँड, सञ्चालक समितिका सदस्य, पूर्व सञ्चालक, शेयरधनी, विभिन्न संघसंस्था तथा निकायका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, पत्रकार र कर्मचारीलगायतको उपस्थिति रहेको थियो।
बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा मंसिर ७ गते सोमबार देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।


































