तेल अभिभ । इजरायलमा संसदीय निर्वाचनपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्ता गठबन्धनले बहुमत गुमाएको छ। तर, उनलाई सत्ताबाट हटाउन खोजिरहेका विपक्षी दलहरूले पनि संसद्मा स्पष्ट बहुमत जुटाउन नसकेपछि देशमा नयाँ सरकार गठनको अन्योल बढेको छ।
अक्टोबर २७ मा सम्पन्न निर्वाचनको नतिजाअनुसार नेतान्याहु नेतृत्वको गठबन्धनले ५३ सिट जितेको छ भने विपक्षी यहुदी दलहरूको गठबन्धनले ४८ सिट प्राप्त गरेको छ। त्यस्तै, अरब नेतृत्वका दलहरूले १९ सिट जितेका छन्।
इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। तर, निर्वाचनबाट कुनै पनि पक्षले उक्त संख्या पुर्याउन नसकेपछि सरकार गठनका लागि नयाँ राजनीतिक समीकरण आवश्यक देखिएको छ।
नेतान्याहु नेतृत्वको गठबन्धनमा लिकुडले २७, युनाइटेड टोराह जुडाइजमले ७, ओट्ज्मा येहुदितले ७, शासले ६ र रिलिजियस जायोनिजमले ६ सिट जितेका छन्।
त्यस्तै, नेतान्याहु विरोधी गठबन्धनमा यासारले २१, बियाचादले १२, द डेमोक्र्याट्सले ८ र इजरायल बेतेनुले ७ सिट प्राप्त गरेका छन्। अरब नेतृत्वका दलमध्ये जोइन्ट लिस्टले ११ र राआमले ८ सिट जितेका छन्।
नयाँ सरकार गठनको प्रक्रिया
निर्वाचनको अन्तिम नतिजा प्रमाणित गरी नोभेम्बर ४ सम्म राष्ट्रपति आइज्याक हर्जोगसमक्ष बुझाउने तयारी छ। त्यसपछि नोभेम्बर १० मा नवनिर्वाचित संसद्का सदस्यहरूले शपथ लिने कार्यक्रम छ।
राष्ट्रपति हर्जोगले नोभेम्बर ११ सम्ममा सरकार गठनका लागि कुनै एक सांसदलाई जिम्मेवारी दिने अपेक्षा गरिएको छ। पार्टीका नेताहरूसँग परामर्श गरेपछि सरकार बनाउन सक्ने सम्भावना बढी भएको सांसदलाई उनले छनोट गर्नेछन्।
राष्ट्रपतिबाट जिम्मेवारी पाउने उम्मेदवारले सरकार गठनका लागि २८ दिनको समय पाउनेछन्। आवश्यक परे थप १४ दिन समय थप गर्न सकिने व्यवस्था छ।
सरकार गठनका लागि नेतान्याहु र विपक्षी गठबन्धनका नेता तथा पूर्वसेनाप्रमुख गादी आइजेनकोट सम्भावित उम्मेदवारका रूपमा देखिएका छन्। आइजेनकोट नेतृत्वको यासार पार्टी विपक्षी खेमामा सबैभन्दा ठूलो दल बनेको छ।
इजरायली सञ्चारमाध्यमका अनुसार नेतान्याहुलाई सत्ताबाट हटाउने उद्देश्यले केही अरब नेतृत्वका दलहरूले आइजेनकोटलाई समर्थन गर्न सक्ने सम्भावना छ। यसले सरकार गठनको प्रतिस्पर्धामा आइजेनकोटको सम्भावना बलियो बनाउन सक्छ।
राष्ट्रपति हर्जोगले पनि राजनीतिक दलहरूलाई दलीय अडानबाट लचिलो बन्न र नयाँ निर्वाचनको अवस्था आउन नदिन सहमतिको विकल्प खोज्न आग्रह गरेका छन्। उनले प्रतिस्पर्धी नेताहरूलाई समेटेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्भावनासमेत औंल्याएका छन्।
अरब दलको समर्थन निर्णायक बन्न सक्ने
विपक्षी गठबन्धनले सरकार बनाउन अरब नेतृत्वका दलहरूको समर्थन लिनुपर्ने अवस्था देखिएको छ। तर, आइजेनकोटसहित विपक्षी नेताहरूले यसअघि अरब दलहरूसँग औपचारिक सहकार्य गर्ने विषयमा अनिच्छा देखाउँदै आएका थिए।
यद्यपि, राआम पार्टीका नेता मन्सुर अब्बासले विपक्षी खेमासँग सहकार्य गर्न सक्ने संकेत दिएका छन्। त्यस्तै, जोइन्ट लिस्टका नेता युसेफ जबारिनले पनि नेतान्याहु सरकारलाई सत्ताबाट हटाउन आफ्नो पार्टी तयार रहेको बताएका छन्।
अरब नेतृत्वका दलहरू विपक्षी गठबन्धनमा औपचारिक रूपमा सहभागी नभए पनि संसद्मा विश्वासको मत दिएर नयाँ सरकारलाई बाहिरबाट समर्थन गर्न सक्ने विकल्प छ। यस्तो समर्थनले विपक्षी गठबन्धनलाई सरकार गठनको बाटो खोल्न सक्छ।
पूर्वप्रधानमन्त्री एहुद बाराकले पनि नेतान्याहुलाई सत्ताबाट हटाउन विपक्षी दलहरूले अरब नेतृत्वका पार्टीसँग सहकार्य गर्नुपर्ने धारणा राखेका छन्।
सहमति नभए फेरि निर्वाचन
राष्ट्रपतिले सरकार गठनका लागि जिम्मेवारी दिएको पहिलो उम्मेदवार असफल भए अर्को सांसदलाई अवसर दिन सकिनेछ। दोस्रो उम्मेदवारले पनि सरकार बनाउन नसके नेसेटका बहुमत सदस्यहरूले तेस्रो उम्मेदवार प्रस्ताव गर्न सक्नेछन्। तेस्रो उम्मेदवारले सरकार गठनका लागि थप १४ दिनको समय पाउने व्यवस्था छ।
त्यसका अतिरिक्त ६१ सिटको स्पष्ट बहुमत नभए पनि साना दलहरूको बाह्य समर्थनमा अल्पमतको सरकार गठन गर्ने विकल्प खुला रहनेछ। आलोपालो प्रधानमन्त्री हुने गरी राजनीतिक शक्ति बाँडफाँटको सहमति पनि हुन सक्छ।
तर, यी कुनै पनि विकल्प सफल नभए संसद् विघटन गरी पुनः निर्वाचनमा जानुपर्नेछ। यस्तो अवस्थामा ९० दिनभित्र नयाँ निर्वाचनको मिति घोषणा गर्नुपर्ने व्यवस्था छ।
कामचलाउ प्रधानमन्त्रीकै रूपमा रहनेछन् नेतान्याहु
नयाँ सरकार गठन नभएसम्म बेन्जामिन नेतान्याहु नै कामचलाउ प्रधानमन्त्रीका रूपमा कायम रहनेछन्। सरकार गठनको प्रक्रिया लम्बिएमा उनले थप केही महिना सत्ताको नेतृत्व गर्ने अवसर पाउन सक्छन्।
नयाँ गठबन्धनमा सहभागी हुन नसके पनि अर्को सरकार नबन्दासम्म नेतान्याहुले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहनेछन्। यसले निर्वाचनपछि पनि इजरायलको सत्ता समीकरणलाई थप पेचिलो बनाउने देखिएको छ।


































