काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा, बीमाशुल्क आर्जन, कुल आम्दानी तथा लगानीलगायत अधिकांश सूचकमा सुधार गरेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा २८.४५ प्रतिशतले बढेको छ।
कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ। अघिल्लो आवमा १९ अर्ब ८२ करोड ६८ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क गत आवमा ६.६५ प्रतिशतले वृद्धि भई २१ अर्ब १४ करोड ५४ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको कुल आम्दानी ३२ अर्ब ३३ करोड १२ लाख रुपैयाँबाट ३.५२ प्रतिशतले बढेर ३३ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। बीमालेखसम्बन्धी लाभ तथा दाबी भुक्तानी भने बढेर २७ अर्ब ८६ करोड रुपैयाँभन्दा माथि पुगेको कम्पनीले जनाएको छ।
गत आर्थिक वर्षमा कम्पनीको कुल खर्च पनि बढेको छ। अघिल्लो आवमा २९ अर्ब ५५ करोड ५८ लाख रुपैयाँ रहेको कुल खर्च ३.८३ प्रतिशतले बढेर ३० अर्ब ६८ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी पनि सुधारिएको छ। अघिल्लो आवमा ५.७४ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत आवमा बढेर ७.३८ रुपैयाँ पुगेको छ।
यसैगरी, कम्पनीको जीवन बीमा कोष १०.४५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आवमा १ खर्ब ३२ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत आवमा बढेर १ खर्ब ४६ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १७७.८७ रुपैयाँ कायम रहेको छ भने सोल्भेन्सी मार्जिन अनुपात १.६१ प्रतिशतमा यथावत रहेको छ।
५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको एलआईसी नेपालको महाविपत्ति कोष ५.५४ प्रतिशतले बढेर ७७ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यता, जगेडा कोष भने २३ प्रतिशतले घटेर २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको लगानीतर्फ पनि वृद्धि देखिएको छ। अघिल्लो आवमा १ खर्ब १७ अर्ब ३४ करोड रुपैयाँ रहेको कुल लगानी गत आवमा बढेर १ खर्ब ३१ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। समग्रमा एलआईसी नेपालले गत आर्थिक वर्षमा नाफा तथा व्यवसाय विस्तारसँग सम्बन्धित अधिकांश प्रमुख वित्तीय सूचकमा सुधार गरेको देखिएको छ।


































