काठमाडौँ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा दूरदर्शी नेतृत्व प्रदान गरेको भन्दै ‘भिजनरी लिडरसिप इन लाइफ इन्स्योरेन्स एण्ड फाइनान्सियल सर्भिसेज’ अवार्डबाट सम्मानित भएका छन्।
श्रेष्ठलाई सातौँ एशियन प्रोफेशनल अचिभमेन्ट अवार्डअन्तर्गत उक्त सम्मान प्रदान गरिएको हो। ललितपुरको कुपण्डोलमा आयोजित ग्रान्ड अवार्ड सेरेमोनीमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले श्रेष्ठलाई सम्मान प्रदान गरेका हुन्।
जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा श्रेष्ठले पुर्याउँदै आएको नेतृत्वदायी योगदानको कदरस्वरूप अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। मेटलाइफ नेपालको नेतृत्वमा रहेर उनले संस्थाको व्यावसायिक विस्तारसँगै सेवा गुणस्तर सुधार र ग्राहक सेवाको प्रभावकारिता अभिवृद्धिमा योगदान पुर्याउँदै आएका छन्।
एशियन प्रोफेशनल अचिभमेन्ट अवार्डमार्फत विभिन्न पेशा तथा व्यवसायमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गर्दै आइएको छ। नेपालसहित एशियाका विभिन्न मुलुकमा आफ्नो पेशा तथा व्यवसायमा विशिष्ट पहिचान बनाउन सफल व्यक्तित्वलाई यस वर्ष पनि अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा श्रेष्ठले प्राप्त गरेको यो सम्मानले उनको नेतृत्व क्षमता र व्यावसायिक योगदानलाई थप स्थापित गरेको छ।


































