काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पुस ४ गते शनिबार २१औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। सभामा उक्त लाभांश प्रस्ताव पारितका लागि पेस गरिनेछ।
बैंकको हाल कायम १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्तापुँजीको ५ प्रतिशतका दरले ६ करोड ८ लाख ५५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिनेछ।
त्यस्तै, ६ प्रतिशतका दरले ७ करोड ३० लाख २६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। यसअनुसार बैंकले कुल १३ करोड ३८ लाख ८१ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ। प्रस्तावित नगद लाभांशमा करसमेत समावेश छ।
साधारणसभाबाट प्रस्ताव पारित भएपछि सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।


































