काठमाडौं। जीवन बीमा क्षेत्रमा बलियो उपस्थिति बनाउँदै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा प्रथम बीमाशुल्क ७ अर्ब रुपैयाँ नाघ्दै नयाँ उपलब्धि हासिल गरेको छ।
कम्पनीका अनुसार समीक्षा अवधिमा ७ अर्ब १० करोड ५८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन भएको हो, जुन अघिल्लो वर्षको तुलनामा १६.७९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६ अर्ब ८ करोड ४५ लाख रुपैयाँ संकलन गरेको थियो।
यसै अवधिमा कम्पनीको कुल बीमाशुल्क आम्दानी पनि उल्लेख्य रूपमा बढेर २४ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २२ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ रहेको कुल बीमाशुल्कमा करिब ९.९७ प्रतिशतको वृद्धि देखिएको कम्पनीले जनाएको छ।
नवीकरण बीमाशुल्कतर्फ पनि कम्पनीले सुधार कायम राख्दै १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ संकलन गरेको छ। अघिल्लो वर्षको १६ अर्ब ५० करोड ९२ लाख रुपैयाँको तुलनामा यो ७.४६ प्रतिशतले बढी हो।
तीनै प्रमुख सूचक—प्रथम, नवीकरण र कुल बीमाशुल्क—मा वृद्धि हासिल गर्दै कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाएको जनाएको छ।


































