काठमाडौं । नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ । सोमबार बिहान मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आएको विमानमा रहेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको हो ।
स्रोतका अनुसार उनीहरूबाट कानुनी रूपमा ल्याउन पाउने सीमाभन्दा बढी विदेशी मुद्रा भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
यात्रुले अधिकतम ५ हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा ल्याउन पाउने व्यवस्था रहेको छ ।
तर, नियन्त्रणमा लिइएका कर्मचारीसँग उक्त सीमाभन्दा बढी रकम भेटिएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
दुवै कर्मचारीको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूसँग विदेशी मुद्रा कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने विषयमा सोधपुछ भइरहेको छ ।
प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ ।


































