काठमाडौं । नेपालमा फिक्स्ड ब्रोडब्यान्ड (तारयुक्त इन्टरनेट) प्रयोगकर्ताको संख्या ३५ लाख नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार देशभर ३५ लाख ८ हजार ८१५ फिक्स्ड ब्रोडब्यान्ड ग्राहक रहेका छन् । तीमध्ये १० लाख ८१ हजार ५६६ ग्राहकसहित वर्ल्डलिङ्क कम्युनिकेसन्सले ३०.८२ प्रतिशत बजार हिस्सा ओगट्दै अग्रस्थान कायम राखेको छ ।
नेपालमा पछिल्ला वर्षहरूमा इन्टरनेट प्रयोगकर्ता उल्लेख्य रूपमा बढ्नुको मुख्य कारण फाइबर नेटवर्क विस्तार, डिजिटल सेवाको बढ्दो प्रयोग, अनलाइन शिक्षा, घरबाटै काम (वर्क फ्रम होम), भिडियो स्ट्रिमिङ, डिजिटल बैंकिङ तथा ई–कमर्सको विस्तार रहेको देखिन्छ । अधिकांश इन्टरनेट सेवा प्रदायकले नयाँ क्षेत्रमा फाइबर सेवा विस्तार गर्नुका साथै उच्च गतिको इन्टरनेट र प्रतिस्पर्धात्मक प्याकेज ल्याएका कारण पनि ग्राहक संख्या बढ्दै गएको हो।
वर्ल्डलिङ्कले पुराना ग्राहकलाई टिकाइराख्दै नयाँ ग्राहक थप्न सफल भएकाले बजारमा आफ्नो अग्रता कायम राखेको हो । कम्पनीले फाइबर नेटवर्क विस्तार, नयाँ प्रविधिमा लगानी, डेटा सेन्टर निर्माण तथा विदेशी संस्थागत लगानीमार्फत पूर्वाधार विस्तारलाई तीव्रता दिएकाले ग्राहक संख्या निरन्तर बढिरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा थपिएका नयाँ ग्राहकमध्ये करिब ३० प्रतिशत ग्राहक वर्ल्डलिङ्कले मात्रै आफ्नो नेटवर्कमा जोड्न सफल भएको छ।
दोस्रो स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) का ३ लाख ८४ हजार ग्राहक रहेका छन् भने डिश मिडिया नेटवर्क ३ लाख ७१ हजार ग्राहकसहित तेस्रो स्थानमा छ। भायानेट कम्युनिकेसन्स ३ लाख ६९ हजार ग्राहकसहित चौथो स्थानमा रहेको छ ।
भायानेटले ५८ जिल्लामा सेवा विस्तार गर्दै स्थिर ग्राहक आधार कायम राखेको छ । खुद्रा ग्राहकसँगै कर्पोरेट तथा अन्य व्यवसायिक ग्राहकबाट पनि आम्दानी गर्ने विविधीकृत व्यवसाय मोडलका कारण कम्पनीले प्रतिस्पर्धाबीच आफ्नो बजार हिस्सा जोगाउन सफल भएको छ।
पाँचौं स्थानमा रहेको क्लासिक टेकका २ लाख ८९ हजार ग्राहक छन् भने सुबिसु केबलनेट २ लाख ६६ हजार ग्राहकसहित छैटौं स्थानमा रहेको छ । सुबिसुले ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । रिटेल, कर्पोरेट तथा टेलिभिजन सेवाबाट हुने विविधीकृत आम्दानी, देशव्यापी शाखा सञ्जाल तथा २५ वर्षभन्दा लामो सञ्चालन अनुभवका कारण कम्पनीले बढ्दो प्रतिस्पर्धाबीच पनि आफ्नो बजार हिस्सा कायम राख्न सफल भएको रिपोर्टमा उल्लेख छ ।
त्यसपछि वेबसर्फर नेपाल, वाइफाइ नेपाल, टेकमाइन्ड्स नेटवर्क र सीजी कम्युनिकेसन्स शीर्ष १० इन्टरनेट सेवा प्रदायकमा परेका छन्।
तथ्यांकले नेपालको फिक्स्ड ब्रोडब्यान्ड बजार केही ठूला कम्पनीकै नियन्त्रणमा रहेको देखाएको छ । वर्ल्डलिङ्क, नेपाल टेलिकम, डिश मिडिया, भायानेट र क्लासिक टेक गरी शीर्ष पाँच सेवा प्रदायकले मात्रै कुल बजारको करिब ७१ प्रतिशत हिस्सा ओगटेका छन्। यसले बजारमा प्रतिस्पर्धा बढे पनि ग्राहकको ठूलो हिस्सा अझै सीमित कम्पनीमै केन्द्रित रहेको देखाउँछ।
प्रविधिगत आधारमा हेर्दा कुल ३५ लाख ८ हजार ८१५ ग्राहकमध्ये ३४ लाख ७७ हजार २०३ जना फाइबर इन्टरनेट प्रयोगकर्ता छन्। एडीएसएल/केबल प्रविधिका ग्राहक २६३ मात्रै रहेका छन् भने ३१ हजार ३४९ ग्राहकले वायरलेस ब्रोडब्यान्ड सेवा प्रयोग गरिरहेका छन् ।


































