National life
cg eloctronics

प्रधानमन्त्री बालेनलाई बुझाउन नपाएको ज्ञापनपत्र प्रवासी नेपालीद्वारा सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
1.3kShares
प्रधानमन्त्री बालेनलाई बुझाउन नपाएको ज्ञापनपत्र प्रवासी नेपालीद्वारा सार्वजनिक
muktinatha bikash bank

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेट गरी प्रवासी नेपालीका समस्या र माग राख्न नपाएपछि भारतस्थित चार नेपाली सङ्गठनले संयुक्त रूपमा सातबुँदे ज्ञापनपत्र सार्वजनिक गरेका छन्।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नेपाली समाज भारत, प्रवासी नेपाली सङ्घ भारत र नेपाली जनसम्पर्क समिति भारतले संयुक्त प्रेस वक्तव्यमार्फत ज्ञापनपत्र सार्वजनिक गरेका हुन्।

सङ्गठनहरूले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रत्यक्ष भेट गरी भारतमा रहेका नेपालीका समस्या अवगत गराउने उद्देश्यले ज्ञापनपत्र तयार पारेका थिए। तर, प्रधानमन्त्रीको कार्यालय र नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भेटका लागि समय उपलब्ध नगराएपछि प्रेस वक्तव्यमार्फत माग सार्वजनिक गर्नुपरेको उनीहरूको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सङ्गठनहरूले भारतमा रहेका नेपालीका लागि आधार कार्ड बनाउने प्रक्रिया सहज बनाउन, दोहोरो नागरिकताको नाममा उत्पन्न समस्या समाधान गर्न र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिले दिएका अधिकार कार्यान्वयन गर्न माग गरेका छन्।

भारतमा बैंक खाता खोल्न, सवारी चालक अनुमतिपत्र लिन, विद्यालय तथा अस्पतालमा भर्ना हुन र दुर्घटना क्षतिपूर्ति एवं पेन्सन प्राप्त गर्न आधार कार्ड आवश्यक पर्ने भए पनि १८२ दिन बसेको प्रमाण र स्थानीय ठेगाना जुटाउन नेपालीहरूलाई कठिनाइ हुने गरेको ज्ञापनपत्रमा उल्लेख छ।

त्यस्तै, दैनिक आवश्यकताका लागि कागजात बनाउँदा दोहोरो नागरिकताको आरोपमा नेपालीहरू पक्राउ पर्ने र मुद्दा खेप्नुपर्ने अवस्था रहेको भन्दै यस विषयमा भारत सरकारसँग कूटनीतिक पहल गर्न उनीहरूले माग गरेका छन्। पीडितलाई न्याय दिलाउन र त्यस्ता कागजात निरस्त गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ।

everest bank

सन् १९५० को सन्धिले नेपाली नागरिकलाई दिएको सुविधाविपरीत भारतीय शैक्षिक संस्था र अस्पतालहरूले विदेशीसरह व्यवहार गर्ने, अतिरिक्त शुल्क लिने तथा विद्यार्थीलाई रोजगारीमा विभेद गर्ने गरेको सङ्गठनहरूको दाबी छ। विद्यार्थीलाई ‘इलिजिबिलिटी सर्टिफिकेट’ माग्ने प्रचलन अन्त्य गर्न पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

यसैगरी, भारत भ्रमणका क्रममा बस, रेल तथा सीमा नाकामा नेपालीमाथि हुने लुटपाट र प्रशासनिक दुर्व्यवहार रोक्न कूटनीतिक पहल गर्न माग गरिएको छ।

प्रवासी नेपालीले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याए पनि उनीहरू मतदानको अधिकारबाट वञ्चित रहेको भन्दै मताधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ।

सङ्गठनहरूले नेपालको सार्वभौमसत्ताको सम्मान गर्दै असंलग्न परराष्ट्र नीति अवलम्बन गर्न र राष्ट्रहितविपरीतका सन्धि–सम्झौता नगर्न सरकारलाई आग्रह गरेका छन्। संविधान संशोधनका क्रममा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रणाली र मौलिक हकको रक्षा गर्नुपर्ने उनीहरूको माग छ।

त्यसैगरी, शिक्षक तथा कर्मचारीका पेसागत सङ्गठन, ट्रेड युनियन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने तथा पत्रकारमाथि आक्रमण गर्नेजस्ता गतिविधि रोक्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

संयुक्त ज्ञापनपत्रमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल, नेपाली समाज भारतका सहसंयोजक आरबी खड्का, प्रवासी नेपाली सङ्घ भारतका सचिवालय सदस्य जीवन शर्मा भुसाल र नेपाली जनसम्पर्क समितिकी सदस्य नन्दी कुमारी न्यौपानेले हस्ताक्षर गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?