काठमाडौं । सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार हेनरी बी. कागन र केन्सो सोइलाई प्रदान गरिने भएको छ। जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया तथा स्वतः उत्प्रेरणसम्बन्धी अनुसन्धानका लागि उनीहरूलाई सम्मान गर्न लागिएको हो।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार स्टकहोममा यस वर्षका रसायनशास्त्रतर्फका नोबेल विजेताको घोषणा गरेको हो।
यस वर्ष नोबेल पुरस्कारको रकम १ करोड २० लाख स्विडिस क्रोनर रहेको छ। पुरस्कारको रकम एक जना, विजेताहरूको समूह वा कुनै संस्थालाई प्रदान गर्न सकिने व्यवस्था छ।
गत वर्ष नयाँ आणविक संरचनाको विकाससम्बन्धी अनुसन्धानका लागि तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो। ती संरचनाको प्रयोगबाट हरितगृह ग्यास सोस्ने तथा सुक्खा क्षेत्रबाट आर्द्रता प्राप्त गर्ने प्रविधिको विकासमा आधार तयार भएको थियो।
यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार सोमबार तीन वैज्ञानिकलाई प्रदान गरिएको थियो भने भौतिकशास्त्रतर्फको पुरस्कार मंगलबार न्युट्रिनोसँग सम्बन्धित अनुसन्धानका लागि प्रदान गरिएको थियो।
साहित्यतर्फको नोबेल पुरस्कार बिहीबार घोषणा हुनेछ। शान्तितर्फको पुरस्कार शुक्रबार घोषणा गरिनेछ भने अर्थशास्त्रतर्फको नोबेल स्मृति पुरस्कार आगामी सोमबार सार्वजनिक गर्ने कार्यक्रम छ।



































