काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्न थालेको छ।
बैंकको असोज १२ गते सम्पन्न २२औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १० प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सभाबाट स्वीकृत लाभांश शेयरधनीको हितग्राही खातामा जोडिएको बैंक खातामा क्रमशः जम्मा तथा भुक्तानी गर्न थालिएको बैंकले जनाएको छ।
त्यस्तै, बैंकले ८.२५ प्रतिशत सानिमा अविमोच्य अग्राधिकार शेयरधनीलाई पनि ८.२५ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गरेको जनाएको छ।
बैंकका अनुसार लाभांश रकम हितग्राहीको बैंक खातामा जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाले शुल्क लिने भए त्यसको भार सम्बन्धित शेयरधनीले नै व्यहोर्नुपर्नेछ।
मर्जर तथा प्राप्तिपछि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर परिवर्तन भएका शेयरधनीलाई भने आफ्नो नयाँ बैंक खाता विवरण अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ। सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट प्राप्त लाभांश रकम यथाशीघ्र नयाँ खातामा जम्मा हुने व्यवस्था मिलाउन पनि बैंकले अनुरोध गरेको छ।

































