काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ।
निर्देशनअनुसार कुनै सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ। सम्बन्धित कम्पनीले प्राप्त गरेको यस्तो सूचना नेपाल स्टक एक्सचेन्ज मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ। सार्वजनिक गरिएको सूचनाको वैधता भने तीन महिनासम्म कायम रहनेछ।
यस व्यवस्थाले ठूला शेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्न लागेको विषय लगानीकर्ताले समयमै थाहा पाउने र बजारमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।
लक–इन तथा कारोबार रोक्का भएका सेयरमा पनि कडाई
बोर्डले सूचीकृत संगठित संस्थाहरूलाई धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क)
बमोजिम खरिद–बिक्री, हस्तान्तरण वा अन्य कारोबार गर्न नमिल्ने धितोपत्र सम्बन्धमा समेत आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ।
यस्ता धितोपत्रको कारोबार तथा हस्तान्तरण रोक्का राख्न केन्द्रीय निक्षेप कम्पनी मा आवश्यक व्यवस्था गर्न जानकारी गराउन सूचीकृत कम्पनीहरूलाई भनिएको छ।
बोर्डको यो निर्देशनले ठूला शेयरधनीबाट हुन सक्ने ठूलो परिमाणको सेयर बिक्रीलाई थप पारदर्शी बनाउने तथा कारोबारमा रहेका प्रतिबन्धित वा लक–इन सेयरको अनधिकृत कारोबार रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


































