धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतका साथ अनुमोदन भएको छ।
प्रदेश सभाको शुक्रबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि सभामुख भिमबहादुर भण्डारीले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयो।
यसअघि बैठकमा उठेका जिज्ञासा तथा सुझावहरूको जवाफ दिँदै मुख्यमन्त्री कमलबहादुर शाहले सांसदहरूबाट प्राप्त सुझावलाई बजेट निर्माण प्रक्रियामा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कार्यान्वयनयोग्य योजना र कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी बजेट तयार गरिने बताउनुभयो।
मुख्यमन्त्री शाहले प्रदेशको विकासका लागि आवश्यक नीति, कानुन तथा कार्यक्रम निर्माणमा सरकार र प्रदेश सभा बीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
प्रदेश सरकारले जेठ १८ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। उक्त कार्यक्रममा पूर्वाधार विकास, शिक्षा क्षेत्रको सुधार, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा पर्यटन प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
प्रदेश सभा सचिवालयका अनुसार सभाको अर्को बैठक शनिबार साँझ ५ बजे बस्नेछ। बैठकमा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची तय गरिएको छ।
प्रदेश सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।

































