काठमाडौँ । अमेरिका र इरानबीच तनाव तीव्र बन्दै गइरहेका बेला डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए अर्को सातादेखि कडा सैन्य कारबाही सुरु गर्ने चेतावनी दिएका छन्।
अमेरिका र इरानबीच लगातार केही दिनदेखि आक्रमण–प्रत्याक्रमण भइरहेका अवस्थामा एक अन्तर्वार्ताका क्रममा ट्रम्पले इरानले कूटनीतिक पहल नगरे ऊर्जा पूर्वाधार र अन्य महत्वपूर्ण संरचनामा प्रहार गर्न सकिने संकेत गरेका हुन्।
यसअघि पनि उनले हर्मुज जलडमरूमध्यसँग सम्बन्धित ढुवानी र आर्थिक दबाबका उपायबारे कडा अभिव्यक्ति दिएका थिए। पछिल्लो समय अमेरिकाले इरानी बन्दरगाहमाथि पुनः दबाब बढाएको र क्षेत्रीय गतिविधि तीव्र बनाएको उल्लेख गरिएको छ।
ट्रम्पको भनाइले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढाएको छ। संयुक्त राष्ट्र संघ अन्तर्गतका अधिकारीहरूले यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नागरिक पूर्वाधारमा लक्षित आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत हुने चेतावनी दिँदै आएका छन्।
यसैबीच, मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ भने हर्मुज जलडमरूमध्य भएर हुने जहाज आवागमनमा पनि अवरोध देखिएको छ।


































