काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा सञ्चालित उन्नतिले काठमाडौंको बबरमहल रिभिजिटेडमा आफ्नो छुट्टै रिटेल आउटलेट सञ्चालनमा ल्याएको छ। नेपाली परम्परागत हस्तकला, मौलिक सीप र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै स्थानीय उद्यमी तथा कालीगढका उत्पादनलाई बजार उपलब्ध गराउने उद्देश्यले आउटलेट स्थापना गरिएको हो।
अक्टोबर ८ मा आयोजित उद्घाटन कार्यक्रममा चौधरी फाउन्डेसनकी बोर्ड सदस्य तथा साउथ एसियन वुमन डेभलपमेन्ट फोरमकी उपाध्यक्ष आश्रयता कार्की चौधरी, नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ, महासंघ ललितपुर इकाइका अध्यक्ष शैलेन्द्र श्रेष्ठलगायत सहभागी थिए।
उन्नतिले परम्परागत सीपलाई आधुनिक बजारको मागअनुसारका उत्पादनमा रूपान्तरण गर्दै आएको छ। संस्थाले स्थानीय उत्पादन, सीप विकास तालिम, उत्पादन विकास तथा बजारसँगको सम्बन्ध विस्तारमा काम गर्दै आएको छ।
यस पहलअन्तर्गत मिथिला कलाका लागि जनकपुर, ढाका बुनाइका लागि तेह्रथुम तथा प्राकृतिक रेसामा आधारित हस्तकलाका लागि ललितपुरमा समेत काम भइरहेको छ।
उद्घाटनका अवसरमा उन्नतिकी सञ्चालन प्रमुख अस्मिता शाक्यले परम्परागत सीपलाई पुस्तान्तरण गर्न कालीगढ तथा उत्पादकलाई दिगो बजारसँग जोड्न आवश्यक रहेको बताइन्। नेपाली सांस्कृतिक सम्पदालाई समकालीन बजारका अवसरसँग जोडेर स्थानीय उत्पादकका लागि दिगो रोजगारी र आम्दानीका अवसर सिर्जना गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।
महासंघकी अध्यक्ष गुरुङले स्थानीय हस्तकलाका उत्पादन प्रवर्द्धन गर्ने उन्नतिको प्रयासको प्रशंसा गर्दै प्राकृतिक रेसा तथा स्वदेशी स्रोतसाधनको उपयोगबाट गुणस्तरीय उत्पादन विकास गर्न नेपालमा पर्याप्त सम्भावना रहेको बताइन्। यसबाट स्थानीय उद्यमी र साना उद्योगका लागि बजार विस्तार गर्न सकिने उनले उल्लेख गरिन्।
बबरमहलस्थित रिटेल आउटलेटमा परम्परागत कलाकृति, सिरेमिक, कपडा, प्राकृतिक रेसाबाट बनेका सामग्री, काष्ठकला, धातुकला तथा जीवनशैलीसँग सम्बन्धित सामग्री राखिएका छन्।
उन्नतिका उत्पादन भारत, अमेरिका, क्यानडा, दुबई र कोरियालगायतका अन्तर्राष्ट्रिय बजारमा समेत पुगेका छन्। नयाँ रिटेल आउटलेटले नेपाली मौलिक उत्पादनलाई थप उपभोक्तासम्म पुर्याउनुका साथै स्थानीय कालीगढ र उद्यमीका लागि बजार विस्तार गर्ने अपेक्षा गरिएको छ।






































