काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आधारभूत तालिम सम्पन्न गरेको छ।
कैलालीको जानकी गाउँपालिका–१, दुर्गौलीस्थित स्मार्ट क्याफेमा असोज ४ गते आयोजित तालिममा लम्की शाखाका सम्पूर्ण अभिकर्ताहरूको सहभागिता रहेको थियो।
अभिकर्ताहरूलाई बीमा व्यवसायसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्नुका साथै उनीहरूको कार्यक्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
लम्की शाखा प्रमुख नवराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर जय राज ढुंगाना विशेष अतिथिका रूपमा सहभागी थिए।
तालिमका क्रममा सहभागी अभिकर्ताहरूलाई बीमा व्यवसायको आधारभूत पक्ष, अभिकर्ताको भूमिका, सेवाग्राहीसँगको सम्बन्ध तथा कार्यक्षमता अभिवृद्धिसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको लम्की शाखाका कर्मचारी अम्भा दत्त अवस्थीले जानकारी दिए।
ज्ञान, सीप र व्यावहारिक अभ्यासलाई प्राथमिकता दिइएको उक्त तालिमले अभिकर्ताहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न तथा बीमा सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





































