काठमाडौं — नेपालमा जीवन बिमा व्यवसाय पहिलोपटक एकै आर्थिक वर्षमा दुई खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। आर्थिक वर्ष ०८२/८३ मा सञ्चालनमा रहेका १४ ठूला र तीन लघु जीवन बिमा कम्पनीले कुल दुई खर्ब चार अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्।
यो रकम अघिल्लो आर्थिक वर्ष ०८१/८२ को तुलनामा १२.२४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष जीवन बिमा कम्पनीहरूले एक खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँ बिमाशुल्क उठाएका थिए।
समीक्षा अवधिमा ठूला जीवन बिमा कम्पनीहरूले दुई खर्ब तीन अर्ब ३८ करोड ९१ लाख रुपैयाँ र लघु जीवन बिमा कम्पनीहरूले एक अर्ब २१ करोड आठ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्। यस्तै, वैदेशिक रोजगार बिमाबाट तीन अर्ब ३६ करोड ७० लाख रुपैयाँ संकलन भएको छ, जुन तोकिएको अनुपातअनुसार कम्पनीहरूमा बाँडफाँट गरिन्छ।
हाल जीवन बिमा कम्पनीहरूमा एक करोड ६७ लाख ९२ हजार दुई सय ३० वटा पोलिसी सक्रिय अवस्थामा रहेका छन्।
नयाँ जीवन बिमा व्यवसाय २१ प्रतिशतले बढ्यो
गत आर्थिक वर्षमा नयाँ जीवन बिमा व्यवसाय अर्थात् प्रथम बिमाशुल्क संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो आवमा ४४ अर्ब ५१ करोड ३० लाख रुपैयाँ प्रथम बिमाशुल्क संकलन भएकोमा गत आवमा यो बढेर ५३ अर्ब ८७ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
कम्पनीगत रूपमा हेर्दा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ। त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्सले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ र एलआइसी नेपालले २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ संकलन गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्।
निर्जीवन बिमा व्यवसाय १५.६ प्रतिशतले विस्तार
जीवन बिमासँगै निर्जीवन बिमा व्यवसायमा पनि वृद्धि देखिएको छ। आर्थिक वर्ष ०८२/८३ मा १४ ठूला र चार लघु निर्जीवन बिमा कम्पनीले कुल ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्।
यो अघिल्लो आवको ४४ अर्ब ८१ करोड २६ लाख रुपैयाँको तुलनामा १५.६० प्रतिशतले बढी हो।
समीक्षा वर्षमा ठूला निर्जीवन बिमा कम्पनीहरूले ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ र लघु कम्पनीहरूले एक अर्ब ३१ करोड ९३ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्।
गत आवमा निर्जीवन बिमा कम्पनीहरूले ३४ लाख ६७ हजार एक सय ६७ वटा पोलिसी बिक्री गरेका छन्। अघिल्लो वर्ष यस्तो संख्या ३२ लाख ४४ हजार तीन सय ८३ थियो।
व्यवसाय वृद्धिदरका हिसाबले निर्जीवन बिमा कम्पनीहरू जीवन बिमा कम्पनीभन्दा अगाडि देखिएका छन्।
कम्पनीगत रूपमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ। त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पाँच अर्ब ४२ करोड २२ लाख रुपैयाँ संकलन गर्दै दोस्रो स्थानमा रहेको छ।
नेपालको बिमा बजारमा जीवन र निर्जीवन दुवै क्षेत्रमा देखिएको यो विस्तारले बिमा पहुँच र व्यवसायिक गतिविधि बढ्दै गएको संकेत गरेको छ।


































