National life

करदाता प्रोत्साहन उपहारको नयाँ मिति तय

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
७ दिन अगाडि|२७ भदौ २०८३, शनिबार
1.5kShares
करदाता प्रोत्साहन उपहारको नयाँ मिति तय
ncell

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज १ गते घोषणा हुने भएको छ ।

करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो । साउन १ गतेदेखि सुचारु रहेको कार्यक्रमअन्तर्गत भदौ १६ गते पुरस्कार घोषणा गर्ने भनिएको थियो । तर, भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले असोज १ गते भदौ महिनाभरिको पुरस्कार घोषणा गर्ने तयारी गरेको जनाएको छ । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले असोज १ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिन एक जनाका दरले १५ जनालाई एक लाख ३३ हजार ३३४ रुपैयाँका दरले विजेता छनोट गरिनेछ ।

यस्तै, भदौ १ देखि १५ गतेसम्म कारोबारमा संलग्न उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनोट गरिनेछ ।

त्यसपछि दोस्रो चरणमा भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि १६ जनालाई एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कारका लागि छनोट गरिने विभागले जनाएको छ । सोही अवधिका उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँ राशिको बम्पर पुरस्कार प्रदान गरिनेछ ।

यसरी असोज १ गते भदौ महिनाका एक लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना विजेता र १०–१० लाख रुपैयाँका दुई जना बम्पर विजेता गरी जम्मा ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।

कसरी सहभागी हुने ?

पुरस्कारका लागि योग्य हुन उपभोक्ताले अनिवार्य रूपमा एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ । कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्नुपर्ने विभागले जनाएको छ ।

विभागका अनुसार अनलाइनमार्फत गरिएको कारोबार स्वतः सरकारको करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ । नगदमा कारोबार गरेर सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गई आफूले प्राप्त गरेको बिल अपलोड गरेर पुरस्कारका लागि योग्य बन्न कुपन लिनुपर्नेछ ।

भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले पुरस्कारमा सहभागी हुन १५ गतेसम्म आफ्नो बिल प्रणालीमा दर्ता गरेर उपहार कुपन लिइसकेको हुनुपर्नेछ ।

त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्म कारोबार गरेर बिल लिएका उपभोक्ताले भदौ मसान्तको राति १२ बजेसम्ममा आफ्नो बिल प्रणालीमा दर्ता गरेर उपहार कुपन प्राप्त गरिसकेको हुनुपर्नेछ ।

पुरस्कारमा २५ प्रतिशत कर

दुवै पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ । हरेक दिनका एक लाख ३३ हजार ३३४ रुपैयाँका विजेताले कर कटाएर एक लाख रुपैयाँ र १० लाख रुपैयाँका बम्पर विजेताले सात लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने कार्यविधि छ ।

साउन महिनामा ३३ जनाले पुरस्कार जितेका थिए । उनीहरूको विजेता छनोट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?