काठमाडौं । नेशनल घर निर्माण फेस्ट–२०८२ को प्रायोजकमा शिवम् सिमेन्ट लिमिटेड आबद्ध भएको छ। फेस्ट आयोजना गर्ने स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्टबीच कार्यक्रम आयोजना तथा प्रवद्र्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी आयोजना हुने फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, परामर्श, सामग्री तथा नवीन प्रविधिहरू एउटै थलोमा प्रस्तुत गरिनेछ। कार्यक्रममार्फत गुणस्तरीय, सुरक्षित र दिगो घर निर्माणबारे राष्ट्रिय सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ।
फेस्टको विशेष आकर्षणका रूपमा गिनिज वल्र्ड रेकर्ड कायम गर्ने लक्ष्यसहित संसारकै सबैभन्दा ठूलो इट्टा प्रदर्शनीसमेत राखिने जानकारी दिइएको छ। यस प्रयासले नेपाली निर्माण क्षेत्रको क्षमता र पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ।
५३ ग्रेड र ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आइरहेको शिवम् सिमेन्टले राष्ट्रिय गौरवका आयोजना तथा ठूला–ठूला पूर्वाधार परियोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। हेटौँडामा स्थापित यस उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर तथा सिमेन्ट उत्पादन गर्दै आइरहेको छ।
नेपाल गुणस्तर चिन्ह तथा विभिन्न अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त शिवम् सिमेन्टले उच्च गुणस्तर र निःशुल्क प्राविधिक सेवाका कारण उपभोक्तामाझ विश्वासिलो ब्रान्डको रूपमा पहिचान बनाएको कम्पनीले जनाएको छ।






































