काठमाडौँको टेकु जाने बाटोमा कल्याण एन्ड कपिल ब्रदश लेखेको बा ४ ख ६३१७ को नम्बरको गाडी सयपत्री मखमली फूलको भारी बोकेर बसेको आज तीन दिन भयो । यो फूलको भारी धादिङ बेसीका कृषक प्रेम मगरको हो ।
कृषक मगरले केही फूल बिक्री केन्द्रबाट लिएका हुन भने केही फूल आफ्नै बारीबाट लिएका छन् । तीन दिन भयो प्रेमले फूल किन्ने ग्राहको प्रतीक्षा गरेर टेकु र आसपासका चोकमा बसेको तर भनेसरि फूलको बिक्री नहुँदा उनका निराशा छाएको छ।

बजारमा पछिल्लो समय प्लास्टिक फूल मालाको प्रयोग बढेको र भारतीय फूलको आयात बन्द नहुँदा स्थानीय स्तरमा उत्पादित फूलले बजार पाउन नसकेको प्रेमको भनाई छ । ‘फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन,’ उनले भने, ‘अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदै छन्।’ घाटामाथि घाटा बेहोरेका छौ ।
सरकारले प्लास्टिक फूल माला प्रतिबन्ध लगाउने भनेको भए पनि प्रभावकारी निगरानी नहुँदा बजारमा सस्तो मूल्यमा पाएको प्लास्टिक माला र भारतीय फूलको बिगबिगीको कारण स्थानीय स्तरमा उत्पादित फूल बिक्री हुन नसकेको उनको भनाइ छ। राजधानीमा ल्याउँदा समेत फूलले बजार नपाउँदा प्रेम लगायत धेरै किसानमा निराशा छाएको छ ।
बाटोमा हिडीरहेका प्रत्येक यात्रुलाई उनीहरू फूल देखाइरहेका छन् , किन्न आग्रह गरिरहेका छन् तर आठ सयमा किनेको फूल चार सयमा दिँदा समेत आशा गरे अनुसार व्यापार हुन नसकेको उनको भनाई छ ।
दीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा फूलको कारोबार बढ्नुपर्ने तर यस्तो अवस्थामा समेत व्यापारमा देखिएको नोक्सानीले आफूहरू निराश भएको अर्को बिक्रेता नवीन घलेको गुनासो छ । घले भन्छन् हामीले दैनिक ४ लाखको फूल लिएर आउँछौ बजारमा २ लाख बराबरको कट्न पनि गाह्रो छ यस्तो अवस्थामा हामीले कसरी परिवार पाल्ने ? सरकारले भारतीय फूल आयातमा पूर्ण रूपमा बन्देज गरिदिए हाम्रो उत्पादनले बजार पाउने थियो र अर्थतन्त्रमा समेत सहयोग पुग्ने थियो ।
हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहारको हर्षोल्लास शहर बजारदेखि गाउँघरसम्म छाएको छ। घरबाट टाढा भएकाहरू तिहारलाई घर फिर्ता भएका छन्। बारीमा फूल ढकमक्क फुलेका छन्। तिहारमा घर सिँगार्न, लक्ष्मी पूजा गर्नदेखि भाइटिकाको दिन दाजुभाइलाई माला लगाउन सयपत्री र मखमली फूलको प्रयोग हुन्छ।






































